काठमाडौं । ४ दिनअघि असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीको प्रमुख कारण एकैपटक हिमपहिरो र गेग्रान झरेपछि आएको खुलेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनअनुसार २५ गते बिहान ४ः २० मा गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोलामा पहिरो गएको थियो ।

उङ्दिलुङ खोला चामर हिमाल र स्येराङ्गी हिमालको बिचमा पर्छ । यही खोलामा पहिले हिमपहिरो र त्यसपछि हिउँसहितको गेग्रान पहिरो फरक–फरक समयमा गएको पाइएको छ ।

पहिला करिब ६ हजार मिटर उचाइबाट हिमपहिरो झरेको थियो । त्यसपछि ५ हजार ५०० मिटर उचाइमा रहेको हिउँसहितको गेग्रान झरेपछि बाढी सृजना भएको खुलेको छ । बाढीले करिब २ हजार मिटर उचाइमा रहेको उङ्दिलुङ खोला र स्यार खोलाको साँघरो दोभान थुनिएको थियो ।
बाढीमा पानीभन्दा बढी गेग्रान भएको पनि पाइएको छ । पहिरो उङ्दिलुङ खोलाबाट आएको थियो । यस खोलाको साँघुरो दोभानमा बाढीको उचाइ ३०० मिटर माथिसम्म देखिएको प्राधिकरणको प्रतिवेदनमा छ ।
उङ्दिलुङ खोला र स्यार खोलाको दोभान थुनिएपछि बाढीले रौद्ररुप लिएको थियो । त्यसले गोरखा र धादिङका खोला किनारका बस्तीहरूमा ठूलो क्षति गरेको थियो ।
२ वटा पक्की पुल, २ वटा झोलुङ्गे पुल, १ वटा बेली पुल, ३ वटा जलविद्युत, ४ वटा हवन कुण्ड, ४ वटा भेडिगोठ र ५ वटा सवारी उक्त बाढीले बगाएको थियो । यस्तै २०४ घर बगाएको बताइएको छ । यसको आर्थिक क्षतिबारे अझै विवरण तयार भइसकेको छैन ।