विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीका मौलिक चाडपर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउने बताएका छन् ।
बडादसैँ, शुभदीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख खापुङले चाडपर्वले नेपाली समाजमा प्रेम, सद्भाव र एकताको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन् ।

विभिन्न विशेषता बोकेका नेपाली मौलिक चाडपर्वले नागरिकबीच आपसी सम्बन्ध प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकताको सूत्रमा बाँध्ने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख खापुङले चाडपर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।