इलाम । इलामको रोङ गाउँपालिका-३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ।
रोङ गाउँपालिका–३ पात्लेडाँडा निवासी ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन्।

उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शनिबार बिहान ८:३० बजे स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान अघि बढाएको छ।
घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको छ।
परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए। घटनामा संलग्न व्यक्ति हाल फरार रहेकाले प्रहरीले उनको खोजी तीव्र बनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।