Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन् । उनीहरू दशैं मनाउन घर जाँदै गरेका थिए ।

दुर्घटनामा घाइते भएका चार जनामध्ये चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा बेहोस अवस्थामा रहेको र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्झनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुने अन्यमा सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा रहेका छन् ।

दुर्घटनापछि बेपत्ता भएका तीन जनाको पहिचान खुल्न सकेको छैन । उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुमो राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ प्रस्थान गरेको थियो । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं