सिन्धुपाल्चोक । दसैँका सामान भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन चिनियाँ पक्षले तीन दिनका लागि नाका खुलाएको हो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको छ । चीनको सिचाङस्थित न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका उनले बताए ।

चीनले गत भदौ १५ देखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो । चाडपर्वका सामग्री भित्र्याउन तीन दिनका लागि नाका खुलाइएपछि व्यवसायीलाई सामान आयात गर्न सहज हुने अपेक्षा गरिएको छ ।