Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

उदयपुर । हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उदयपुरको कटारीमा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

आइतबार बिहानैदेखि कटारी नगरपालिका–५ स्थित बुद्धचोकमा प्रदर्शन गर्दै स्थानीयवासीले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रु प्रभावित भएका छन् ।

प्रदर्शनकारीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय भुल्के स्कुलका शिक्षक श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्थानीय मधु धमलाका अनुसार घर फर्किँदै गरेका शिक्षक श्रेष्ठ सवार मोटरसाइकललाई हायस गाडीले ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलले दुर्घटनामा संलग्न हायस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार अवरुद्ध राजमार्ग खुलाउने विषयमा स्थानीयवासी र प्रहरीबीच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको छ ।

शिक्षकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेपछि उक्त सडकखण्डमा यातायात प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं