ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ताप्लेजुङ समाज नेपालले १ लाख राहत रकम प्रदान गरेको छ ।
गत असोज ८ गते भएको आगलागीबाट प्रभावित १६ परिवारलाई ताप्लेजुङ समाज–नेपालले मंगलबार एक कार्यक्रमका बिच नगद १ लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराएको हो ।

ताप्लेजुङ समाज–नेपालकी उपमहासचिव सीता पौडेल दाहालको नेतृत्वमा कोषाध्यक्ष वीरेन्द्रकुमार दाहाल र कार्यसमिति सदस्य रन्जु बाबा श्रेष्ठसहितको टोलीले प्रभावित परिवारलाई राहत रकम हस्तान्तरण गरेका थिए ।

समाजले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूबाट उठाएको एकमुस्ट रकम १ लाख प्रभावित परिवारको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर वितरण गरेको समाजका अध्यक्ष रमेश बरालले जानकारी दिए ।