सुजता लिम्बू

शनिबार, कार्तिक ०८, २०८३

विराटनगर । बिहानको झिसमिसे उज्यालोसँगै कविता तामाङको दिन सुरु हुन्छ। भालेको डाकसँगै उनी कपडामा धागोका बुट्टा भर्न थाल्छिन्। हातमा सियो र धागो लिएर सांस्कृतिक पहिरन मेन्दो बनाउन व्यस्त हुने उनका लागि यो पेसा मात्र होइन, परिवारको खर्च जुटाउने आधार र आफ्नो संस्कृति जोगाउने माध्यम पनि हो।

३३ वर्षीया कविता सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ मा बस्दै आएकी छन्। जन्मथलो रसुवा भए पनि विवाहपछि सङ्खुवासभा उनको कर्मथलो बनेको हो। सामाजिक सञ्जाल फेसबुकमा भएको सामान्य चिनजान र कुराकानी प्रेममा परिणत भएपछि उनको जीवनले नयाँ मोड लियो।

पढाइ छाडेर वैदेशिक रोजगारीका लागि दुबई पुगेकी कविता त्यही समयमा फेसबुकमार्फत आफ्नो भावी जीवनसाथीसँग नजिकिएकी थिइन्। बिस्तारै बढेको आत्मीयता प्रेममा बदलियो र अन्ततः उनीहरू विवाह बन्धनमा बाँधिए। अहिले दुई सन्तानकी आमा रहेकी कविताको जीवन परिवारको जिम्मेवारी, आर्थिक सङ्घर्ष र छोरीको भविष्यप्रतिको चिन्तासँग जोडिएको छ।

रसुवाकी कविता विवाहपछि सङ्खुवासभा आए पनि आफ्नो संस्कृति र पहिचानसँगको सम्बन्ध भने टुट्न दिएकी छैनन्। उनी अहिले शेर्पा तथा तामाङ समुदायको सांस्कृतिक पहिरन मेन्दो बनाउने काम गर्छिन्। विशेष गरी गोरखा, रसुवा, मनाङ, मुस्ताङ र केरुङ क्षेत्रका तामाङ तथा शेर्पा समुदायमा प्रयोग हुने यो पहिरन तयार पारेर उनले आम्दानी गर्दै आएकी छन्।

दिदीहरूले मेन्दो बनाएको देखेरै उनले सानैदेखि यो सीप सिकेकी थिइन्। त्यति बेला सिकेको सीप आज उनको जीवन धान्ने आधार बनेको छ। श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्। घर खर्च र सन्तानको आवश्यकता पूरा गर्न श्रीमान्को कमाइ मात्रै पर्याप्त नहुने भएपछि कविता आफ्नै सीपमार्फत आम्दानी गर्न थालेकी हुन्। विशेष गरी छोरीको हेरचाह र उपचारमा लाग्ने खर्च जुटाउन यो कामले उनलाई केही राहत दिएको छ।
मेन्दो बनाउँदा हुने आम्दानीले घर खर्चमा सहयोग पुग्नुका साथै आफ्नो समुदायको संस्कृति र पहिचान जोगाउन पनि योगदान पुगेको उनको बुझाइ छ। उनका लागि धागोका प्रत्येक बुट्टा आम्दानीसँगै आत्मनिर्भर बन्ने प्रयासका प्रतीक हुन्।

छोरीको अवस्थाले बदलिएको जीवन

कविताको जीवनमा आर्थिक जिम्मेवारीसँगै अर्को ठूलो चुनौती पनि छ, जेठी छोरीको हेरचाह। उनकी जेठी छोरीलाई अटिजम भएको छ। छोरी चार वर्षकी हुँदा उनको विकासक्रममा केही भिन्नता रहेको थाहा पाएपछि कविता गहिरो चिन्तामा परेकी थिइन्।

छोरी ढिलो हिँड्ने र बोल्न नसक्ने समस्या देखिएपछि मात्रै आफूले उनको अवस्थाबारे थाहा पाएको कविता बताउँछिन्। त्यसपछि छोरीको उपचार र आवश्यक सहयोगका लागि उनले धेरै प्रयास गरिन्।

केही समय काठमाडौँमा बसेर छोरीको उपचार गराउँदा आर्थिक भार बढ्दै गएको उनले सुनाइन्। साँघुरो कोठामा बस्दा छोरीलाई खेल्न र खुला वातावरणमा घुलमिल हुन पर्याप्त ठाउँ नपुगेको अनुभव पनि उनलाई भयो। त्यसपछि छोरीकै सहजता र हेरचाहलाई ध्यानमा राख्दै उनी काठमाडौँ छाडेर सङ्खुवासभाको खाँदबारी फर्किइन्।

‘छोरी ढिलो हिँड्थी, बोल्दिनथी। पछि छोरीलाई अटिजम रहेछ भन्ने थाहा भयो। काठमाडौँमा उपचार र थेरापी गराउँदा खर्च धेरै हुँदै गयो। एउटै कोठामा बस्दा नानीलाई झन् समस्या भएको महसुस भयो। त्यसैले छोरीकै लागि खाँदबारी ल्याएँ,’ उनले भनिन्।

खाँदबारी आएपछि खुला घर, फराकिलो वातावरण र खेल्न पाउने ठाउँले छोरीलाई सहज भएको उनको अनुभव छ। अहिले छोरी केही शब्द बोल्ने र आफूले भनेका कुरा बुझ्ने गरेको कविता बताउँछिन्।

छोरीको अवस्था बुझ्दै जाँदा उनले हेरचाह, धैर्य र मायाको महत्त्व पनि नजिकबाट महसुस गरेकी छन्। अटिजम भएका बालबालिकालाई अरू बालबालिकाभन्दा फरक व्यवहार गर्ने वा उनीहरूको भावना नबुझी बेवास्ता गर्ने प्रवृत्तिले आफूलाई दुःखी बनाउने गरेको उनी सुनाउँछिन्।

‘यस्ता नानीहरूलाई पनि माया र साथ चाहिन्छ। उनीहरूको भावना बुझ्नुपर्छ। अरू बालबालिकालाई जस्तै उनीहरूलाई पनि खेल्न, सिक्न र आफ्नो क्षमताअनुसार अघि बढ्न दिनुपर्छ,’ उनी भन्छिन् ।

छोरीको हेरचाहसँगै कविता आर्थिक उपार्जनमा पनि जुटिरहेकी छन्। मेन्दो बनाउने कामबाट हुने आम्दानीले घर खर्चमा सहयोग पुगे पनि छोरीको आवश्यक हेरचाह र उपचारका लागि थप स्रोत जुटाउनुपर्ने अवस्था छ। यही जिम्मेवारीले उनलाई आफ्नो सीपलाई निरन्तरता दिन प्रेरित गरेको छ।

तर खाँदबारीमा अटिजम भएका बालबालिकाका लागि आवश्यक विशेष शैक्षिक सेवा र थेरापीको अभाव रहेको उनी बताउँछिन्। यस्तो अवस्थामा अभिभावकले आफ्नै प्रयासमा बालबालिकाको हेरचाह र सिकाइको व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेको उनको अनुभव छ।

अर्कोतर्फ, यस्ता बालबालिकालाई विद्यालयमा भर्ना गराउनसमेत समस्या हुने गरेको उनी बताउँछिन्। सामान्य अवस्थाका बालबालिका र अतिरिक्त सहयोग आवश्यक पर्ने बालबालिकालाई एउटै प्रणालीमा पढाउन कठिन हुने तर्क गर्दैमा उनीहरूलाई शिक्षाबाट वञ्चित गर्नु उचित नहुने उनको धारणा छ। बरु हरेक बालबालिकाको आवश्यकता र क्षमताअनुसार सिकाइको वातावरण तयार पार्नुपर्नेमा उनको जोड छ।

खाँदबारी नगरपालिकाले अटिजम भएका बालबालिका र उनीहरूका परिवारको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने कविता बताउँछिन्। वडाबाट फरक क्षमता भएका व्यक्तिका (उनको छोरीले पनि भत्ता पाउँछिन् )लागि भत्ता उपलब्ध हुने गरेको भए पनि आर्थिक सहयोग मात्रै पर्याप्त नहुने उनको भनाइ छ।

‘पैसा मात्रै सबै कुरा होइन। यस्ता बालबालिकाले पनि समान अवसर र आत्मसम्मानका साथ पढ्न पाउनुपर्छ। विद्यालयमा भर्ना लिनेदेखि उनीहरूलाई आवश्यक सहयोग गर्ने वातावरण बन्नुपर्छ,’ उनले भनिन्।

उनका अनुसार अटिजम भएका बालबालिकालाई घृणा वा उपेक्षाको दृष्टिले होइन, उनीहरूको अवस्था बुझेर व्यवहार गर्न आवश्यक छ। अभिभावकको माया र धैर्यसँगै समुदायको साथ, उपयुक्त शिक्षा र आवश्यक सहयोग पनि उत्तिकै महत्त्वपूर्ण छन्।

कविताको दिन  बिहानको झिसमिसेसँगै सुरु हुन्छ। घरपरिवारको जिम्मेवारी सम्हाल्दै, छोरीको हेरचाह गर्दै र मेन्दोका बुट्टा भर्दै उनी भविष्यप्रतिको आशा जीवित राखिरहेकी छन्। उनको  संघर्ष  परिवारको खर्च जुटाउने प्रयासमा सीमित छैन।  छोरीलाई सहज वातावरणमा हुर्काउने र उनीजस्तै अवस्थाका बालबालिकाले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने आवाज पनि हो।

कविताको हातमा रहेको सियोले कपडामा बुट्टा भर्छ। तर उनको मनमा भने छोरीका लागि सुरक्षित भविष्य, सहज शिक्षा र सम्मानपूर्ण जीवनको सपना उनिइरहेको छ। उनको चाहना  छ, छोरीलाई माया गरेर हुर्काउने, उनको क्षमताअनुसार अघि बढ्न सहयोग गर्ने र समाजले पनि उनलाई स्वीकार गर्ने वातावरण बनाउने।

धागोका मसिना तानाजस्तै कविताको जीवनमा पनि जिम्मेवारीका अनेक गाँठा छन्। ती गाँठा फुकाउँदै उनी अघि बढिरहेकी छिन्। आँखाको डिलमा आँसुका दाना टिलपिलाउँदै उनी भावुक स्वरमा भन्छिन्, ‘मेरो छोरीले पनि सम्मानपूर्वक बाँच्न पाओस्। यस्ता बालबालिकाको पहिचान गरी उनीहरूको हक, अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्न खाँदबारी नगरपालिकाले पनि विशेष पहल गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं