विराटनगर । विराटनगरस्थित ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी परेपछि प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक युवतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
खत्रीका परिवारले किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले झापा घर भएकी २७ वर्षीया इन्दु भनिने खिलिना दाहाललाई नियन्त्रणमा लिएको हो । प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गराई घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

दाहाल विगत चार–पाँच वर्षदेखि खत्रीको रेस्टुरेन्टमा कार्यरत थिइन् । उनले रेस्टुरेन्टको आर्थिक कारोबार तथा लेखा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार परिवारको जाहेरीका आधारमा दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीका अनुसार खत्री र दाहालबीच व्यक्तिगत सम्बन्धका साथै आर्थिक कारोबारका विषयमा पनि विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनीहरूबीचको व्यक्तिगत सम्बन्धमा आएको उतारचढाव तथा रेस्टुरेन्टको आर्थिक हिसाबकिताबमा अनियमितता भए–नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको एसपी कटुवालले बताए ।
दाहालले भने रेस्टुरेन्टको सम्पूर्ण हिसाबकिताब आफूले हेर्दै आएको स्वीकार गरे पनि आर्थिक अनियमितता नगरेको र खत्रीलाई ब्ल्याकमेलिङ वा मानसिक तनाव नदिएको दाबी गरेकी छन् । पछिल्लो समय आफूहरूबीच सामान्य मनमुटाव भएको तथा करिब १० दिनदेखि खत्रीले अत्यधिक मदिरा सेवन गर्ने गरेको उनले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरेकी छन् ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले खत्री र दाहालका मोबाइल फोनलगायत डिजिटल उपकरणको प्राविधिक परीक्षण गरिरहेको छ । आर्थिक कारोबार, उनीहरूबीचको सम्बन्ध तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–३ निवासी खत्री गत शुक्रबार दिउँसो १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए । त्यसपछि परिवारको सम्पर्कबाहिर रहेका उनी शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानीको जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी चढेर गएको स्कुटर भने अझै फेला परेको छैन ।
खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाका बेला भारतमा रहेकी उनकी श्रीमती फर्किएपछि परिवारको उपस्थितिमा शव परीक्षण प्रक्रिया अघि बढाइएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खत्रीको शवको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्ट, डिजिटल उपकरणको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट प्राप्त हुने थप तथ्यका आधारमा मृत्युको यकिन कारण खुल्ने प्रहरीले जनाएको छ ।