Lite Nepal

बुधबार, कार्तिक ११, २०८३

काठमाडौं । अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले अब काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै नागरिकताको प्रतिलिपि वितरणका लागि प्रदेशअनुसार सेवा प्रवाहको व्यवस्था मिलाइएको जनाएको छ।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो।

नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा अन्य कारणले नष्ट भएको, च्यातिएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा उपयोग गर्न सक्नेछन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका अनुसार गृह मन्त्रालयले कात्तिक ९ गते जारी गरेको परिपत्रका आधारमा उपत्यकामा अन्य जिल्लाबाट नागरिकता लिएका व्यक्तिहरूको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको हो।

कुन प्रदेशका नागरिकले कहाँबाट सेवा पाउने ?
नयाँ व्यवस्थाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले जिल्ला प्रशासन कार्यालय, काठमाडौं वा त्यसअन्तर्गतका कार्यालयबाट प्रतिलिपिसम्बन्धी सेवा लिन सक्नेछन्।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय, ललितपुर वा त्यसअन्तर्गतका कार्यालयबाट सेवा उपलब्ध गराइनेछ।

कोशी र मधेश प्रदेशका जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले भने जिल्ला प्रशासन कार्यालय, भक्तपुर वा त्यसअन्तर्गतका कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस)मा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ ।

तर, अभिलेख नमिलेमा, साविकको नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्म मिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहेमा तथा पहिलो दृष्टिमै नागरिकता शङ्कास्पद देखिएमा भने सम्बन्धित व्यक्तिले साविकमा नागरिकता लिएको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं