विराटनगर । मोरङको रतुवामाई क्षेत्रबाट प्रहरीले गोली चलगाएर ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै हतियार र लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ओसारपसारम संलग्न गिरोह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएका मध्ये भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते छन् । उनीहरूको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका लागि सुरुमा नगर अस्पताल झुर्किया पठाइएको थियो । झुर्कियामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । अर्का एक जना पक्राउ पर्नेमा नेपाली छन् । उनी मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन् ।

लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न गिरोहलाई लक्षित गरेर गोली चलाउनु परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र गोली बरामद भएको छ । घटना राति करिब ९ः३० बजेतिरको हो । सुरुमा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र तत्काल नम्बर नखुलेको अर्को मोटरसाइकलमा आएका तीन जनालाई रोकेको थियो । प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए । र, प्रहरी माथि नै गोली प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।