विराटनगर । भुटानको मो छू नदीमा गएराति एक्कासी ठूलो बाढी आएको छ । बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा क्षति पुर्याउनुको साथै गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ ।
बाढीको कारण हिमताल विष्फोटको आशंका गरिएको भुटानका सरकारी अधिकारीले जनाएका छन् ।

आकस्मिक बाढीसँगै बगेर आएको गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ ।

बाढीले लाया गेओगको सडकअन्तर्गत टोङचुद्राक खण्डको केही भाग बगाएको र सडक अवरुद्ध भएपछि लाया क्षेत्र देशका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस बीबीएसले जनाएको छ ।

बाढीका कारण मानवीय क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन् । यो बाढी गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएर आएको आशंका गरिएको छ ।
यो भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । ताल मो छू नदीको मुहान क्षेत्रमा पर्छ । बाढी पनि मो छू नदीमा आएकाले ताल विष्फोटको आशंका गरिएको हो ।
सामाजिक सन्जालमा सार्वजनिक केही तस्वीरहरुमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिन्छ । तर त्यसको आधिकारिकता पुष्टि हुन बाँकी छ ।