पुस्तौँदेखिको सीप संकटमा
भोजपुर । आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्रीको प्रयोग घट्दै गएको छ । कुनै समय दूध, दही तथा घिउ भण्डारण गर्न अनिवार्यजस्तै मानिने काठका ठेकी, हर्पे र दुदेरालगायत सामग्री अहिले लोप हुने अवस्थामा पुगेका छन् ।
विगतमा गाउँघरमा आवश्यक पर्ने काठका सामग्री स्थानीयस्तरमै निर्माण गर्ने चलन थियो । विशेषगरी पशुपालन गर्ने परिवारमा दूध तथा दुग्धजन्य पदार्थ भण्डारण गर्न ठेकी, हर्पे र दुदेराको प्रयोग गरिन्थ्यो । यी सामग्री घरायसी प्रयोजनका साधन मात्र नभई स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र मौलिक जीवनशैलीका पहिचानसमेत थिए ।

तर, पछिल्लो समय प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत काठका सामग्री विस्थापित हुँदै गएका छन् । यसको प्रत्यक्ष असर ती सामग्री निर्माण गर्ने पुस्तौँदेखिको सीप र परम्परामा समेत परेको छ ।

टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय रामबहादुर विष्ट काठका परम्परागत सामग्री बनाउने र प्रयोग गर्ने चलन पछिल्लो समय निकै घटेको बताउँछन् । बजारमा प्लास्टिक तथा धातुका सामग्री सहजै उपलब्ध हुन थालेपछि काठका सामग्रीको माग र प्रयोग दुवै घटेको उनको भनाइ छ । प्रयोगमा कमी आएसँगै यस्ता सामग्री निर्माण गर्ने सीप र त्यससँग जोडिएको परम्परासमेत हराउने जोखिम बढेको उनले बताए ।
स्थानीय पदमबहादुर बस्नेतका अनुसार बदलिँदो जीवनशैली, घरायसी आवश्यकता र बजारको सहज पहुँचले काठका सामग्रीको प्रयोग घटाएको हो । पहिले स्थानीय स्रोतसाधनको उपयोग गरी निर्माण गरिने यस्ता सामग्री अहिले बजारमा पाइने आधुनिक विकल्पले विस्थापित गर्दै लगेको उनले बताए ।
आधुनिक सामग्रीले दैनिक जीवन सहज बनाए पनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपको निरन्तरतामा चुनौती थपिएको बस्नेतको भनाइ छ । काठका सामग्री निर्माण गर्न उपयुक्त काठ छनोट गर्ने, त्यसलाई आवश्यक आकार दिने र प्रयोगअनुसार तयार पार्ने विशेष सीप आवश्यक पर्छ । लामो अभ्यास र अनुभवबाट पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस्तो सीप पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुने क्रमसमेत घट्दै गएको छ । नयाँ पुस्ताको आकर्षण अन्य पेसा तथा आधुनिक जीवनशैलीतर्फ बढ्दा परम्परागत सामग्री निर्माणमा संलग्न हुने जनशक्तिको अभाव देखिन थालेको छ ।
स्थानीय स्रोतसाधनको उपयोग, मौलिक सीप र गाउँघरको सांस्कृतिक पहिचानसँग जोडिएका यस्ता काठका सामग्रीको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । परम्परागत सामग्री निर्माण गर्ने सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने तथा उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न सके पुस्तौँदेखिको सीप र सांस्कृतिक पहिचान जोगाउन सकिने स्थानीय जानकारहरूको भनाइ छ ।