इलाम । इलाममा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाम नगरपालिका–४ छ्यारछारेमा गत कात्तिक १५ गते अपराह्न करिब ४ः३० बजे स्थानीय ३२ वर्षीय सुवास लोहारमाथि धारिलो हतियार प्रहार भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही स्थानका २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारलाई पक्राउ गरेको जनाएको छ। हतियार प्रहारबाट सुवासको गाला, टाउको र खुट्टामा गहिरो चोट लागेको छ।

घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको थियो। उनको हाल सोही अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै तीनै जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
