सुनसरी। बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेती सुरु गरी राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष विदेशमा बिताएका उनले २०७७ सालमा भाइ भरतसँग मिलेर ५० हजार रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका थिए।
हाल छ कट्ठा जग्गामा छ वटा टनेल निर्माण गरी च्याउ खेती गर्दै आएका उनको फार्मबाट दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन हुन्छ। वार्षिक ३० टनभन्दा बढी च्याउ बिक्री गरेर सबै खर्च कटाउँदा १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।

उनले उत्पादन गरेको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाटलगायत बजारमा बिक्री हुने गरेको छ। हाल प्रतिकिलो १८० देखि १९० रुपैयाँसम्ममा च्याउ बिक्री भइरहेको छ। उनको फार्ममा छ जना कामदारले रोजगारीसमेत पाएका छन्।

कृषि ज्ञान केन्द्र र बराहक्षेत्र नगरपालिकाबाट अनुदान तथा कृषि सामग्री सहयोग पाएपछि व्यवसाय थप सहज भएको उनले बताए। गुप्ताले थोरै लगानी र मेहनतबाट पनि स्वदेशमै राम्रो आम्दानी गर्न सकिने भन्दै युवालाई विदेश जानुभन्दा आफ्नै गाउँमा उद्यम गर्न सुझाव दिएका छन्।