झापा । एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय झापा सक्रिय भएको छ ।
स्थानीयका माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल स्थानान्तरणमा देखिएको समस्याले निर्माण कार्य प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गरेका छन् ।

निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार डिजाइन परिवर्तनको माग, ओभरपास निर्माणका लागि आवश्यक माटोको अभाव तथा निर्माण सामग्रीको नियमित आपूर्ति नहुँदा काममा अवरोध भइरहेको छ ।

त्यस्तै, काँकडभिट्टा, धुलाबारी, चारआली तथा विद्यालय क्षेत्रको सडक संरचना व्यवस्थापनमा स्थानीयका विभिन्न माग रहेका छन् । सहरी क्षेत्रमा विद्युत् पोल स्थानान्तरण र कालोपत्रका लागि आवश्यक सामग्रीको आपूर्तिमा समेत समस्या देखिएको आयोजनाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्माणमा देखिएका समस्या समाधान गर्न जनप्रतिनिधि, स्थानीय तह, स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए । विद्युत् पोल व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणको कोशी प्रादेशिक कार्यालयसँग पनि छलफल भइरहेको उनले जानकारी दिए ।
एसियाली विकास बैङ्कको सहयोगमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । त्यसमध्ये काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्ड निर्माणको जिम्मा इभ्रास्कन–कालिका जेभीले पाएको छ ।
१० अर्ब छ करोड ९४ लाख रुपैयाँभन्दा बढी लागतको उक्त आयोजनाको निर्माण विसं २०८० माघ १९ गतेदेखि सुरु भएको हो । सम्झौता अवधि सकिन करिब तीन महिना बाँकी रहँदा पूर्वी खण्डको भौतिक प्रगति ५६ प्रतिशत मात्रै पुगेको छ । निर्माण कम्पनीलाई गति बढाएर सम्झौता अवधिभित्र ७० प्रतिशत प्रगति हासिल गर्न आग्रह गरिएको छ ।