सोलुखुम्बु । सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अवतरण गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरहरू आपसमा ठोक्किएर दुर्घटना भएको हो।
फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा जुध्न पुगेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्।

दुर्घटनामा परी एक विदेशी नागरिकको ज्यान गएको र अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले पुष्टि गरेका छन्।

घटनाको विस्तृत विवरण संकलन गर्ने तथा थप अनुसन्धान अघि बढाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।