डोल्पा । डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएको घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट खटिएको केन्द्रीय टोली डोल्पा पुगेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला तहमा पनि प्रहरी निरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । उक्त समितिले केही दिनदेखि घटनाबारे अनुसन्धान गरिरहेको छ ।
केन्द्रीय अनुसन्धान टोलीको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगन्ज) का प्रहरी वरिष्ठ उपरीक्षक राजीवबहादुर बस्नेतले गरेका छन् । पाँच सदस्यीय टोली डोल्पा पुगिसकेको बस्नेतले जानकारी दिए । उनका अनुसार टोलीमा प्रहरी प्रधान कार्यालयका तीन जना र कर्णाली प्रदेश प्रहरी कार्यालयका एक जना सदस्य छन् । टोलीले जिल्ला प्रहरी कार्यालय पुगेर घटनाको थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

गत शुक्रबार राति जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन गरी आठ कैदीबन्दीले करिब चार मिटर लामो सुरुङ खनेर कारागारबाट फरार भएका थिए । फरार कैदीबन्दीको खोजी कार्य जारी रहे पनि उनीहरू अझै फेला पर्न सकेका छैनन् ।
