काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता भएको छ। दुवै पार्टीले मंगलबार १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकता प्रक्रिया अघि बढाउने सहमति गरेका हुन्। सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा हुनेछ। पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने उल्लेख छ।
त्यस्तै, पार्टीको तत्कालीन कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि तथा रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने विषय समेटिएका छन्।

सहमति पत्रमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख गर्दै परिस्थितिअनुसार आन्दोलनका सबै स्वरूप अपनाउन सकिने जनाइएको छ। सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनका रूपमा उपयोग गर्ने सहमति पनि भएको छ।

एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ। केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ।
त्यस्तै, सबै तहका पार्टी समिति तथा जनसंगठनको समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ। पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति तथा जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार गरिने जनाइएको छ।
दुई पार्टीबीच हुन सक्ने सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतको राजनीतिक समीक्षाबारे निरन्तर छलफल गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति भएको छ। सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।
