काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए। उनीहरूको शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो। उजुरीमाथि छलफल तथा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया पूरा गरेपछि समितिले चारै जनाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

