सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–२, मनकामना टोलबाट प्रहरीले ४ किलो ८६४ ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। शनिवार बिहान लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ६० वर्षीय महादेव मेहताको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको घरबाट ४ किलो ८६४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

