काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । पार्टीको पहिचान र राजनीतिक मूल्य पैसाको प्रभावबाट निर्धारण हुन नसक्ने भन्दै उनले पार्टी विधि, विधान र कार्यकर्ताको विश्वासका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाए । निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिइएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उनले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा दबाब र आर्थिक चलखेल भएको आरोप सार्वजनिक हुनु गम्भीर विषय भएको उनको भनाइ थियो । पैसाको बलमा पार्टी नै आफ्नो पक्षमा पार्ने प्रयास भएको टिप्पणी गर्दै उनले राजनीतिक दलको मूल्य र मान्यता आर्थिक प्रभावबाट निर्देशित हुन नहुने बताए ।

“पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्,” देउवाले भने, “यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ । पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ ।”
आफूले व्यक्तिगत जीवनमा धेरै उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै देउवाले अब पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए । पार्टीलाई जोगाउने र मुलुकलाई समृद्ध बनाउने दायित्व सबैको भएको उनको भनाइ थियो ।
“मैले जीवनमा धेरै कुरा पाइसकेको छु, अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,” उनले भने, “यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो ।”
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय मिल्नेमा आफू विश्वस्त रहेको पनि देउवाले बताए । उनले कांग्रेसको रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।
“मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ,” उनले भने, “अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ ।”