Lite Nepal

शनिबार, कार्तिक २१, २०८३

इलाम । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ आयोजना हुने भएको छ। जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सव व्यवस्थापनका लागि सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा गठित सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिले तयारी तीव्र पारेको छ। सूर्योदय नगरपालिका–७, ८ र ९ का जनप्रतिनिधि तथा स्थानीय चिया पर्यटन व्यवसायी सम्मिलित समितिले महोत्सवको तयारी गरिरहेको संयोजक लामाले बताए।

उनका अनुसार महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खानाका परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। महोत्सवका क्रममा ‘जलवायु परिवर्तनको सामना :  दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवादसमेत आयोजना हुनेछ। संघीय सांसद, नेपाल सरकारका कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधिको सहभागिता रहने उक्त अन्तरसंवादको सहजीकरण पत्रकार वसन्त बस्नेतले गर्ने संयोजक लामाले जानकारी दिए।

महोत्सवमा स्थानीय खाद्य परिकारका स्टलसँगै सूर्योदय नगरपालिका क्षेत्रमा उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था गरिने महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव खेम राईले बताए।

उनका अनुसार महोत्सवका अवसरमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ। पुरुषतर्फ कन्याममा १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड प्रतियोगिता आयोजना गरिनेछ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक सहभागी हुने लक्ष्य राखिएको संयोजक लामाले बताए। उनका अनुसार चिया पर्यटन प्रवर्द्धन गर्नुका साथै सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए। सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत सूर्योदय नगरपालिका–७ को कन्यामदेखि वडा नं.५ स्थित श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ।

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम इलाम जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हो। चारैतिर हरियाली चियाबारीले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो तथा भिडियो खिच्न र प्राकृतिक दृश्यावलोकन गर्न दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं