Lite Nepal

सोमबार, कार्तिक २३, २०८३

झापा । ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उनको ५० घारमा मात्र मौरी बाँकी छन् ।अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालनमा होमिएकी उनको समूहसँग कुनै बेला ९०० घारसम्म मौरी थिए । वार्षिक १० हजार केजी शुद्ध मह उत्पादन गर्दै आएको उनले स्मरण गरिन् ।

मौरीपालनकै कारण राष्ट्रपति पुरस्कारसमेत पाएकी उनी रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि अब मौरीपालनलाई निरन्तरता दिन कठिन भइरहेको बताउँछिन् ।

“रोग सङ्क्रमणले ठुलो क्षति भयो”, उनी भन्छिन्, “ठुलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन ।”

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् ।

कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताए । कनकाई मौरीपालन उद्योगका सञ्चालक उनले व्यावसायिक मौरीपालनले लगानीअनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाए ।

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ । उनले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

शिवसताक्षी नगरपालिकामा अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेको कृषि शाखा प्रमुख रविन भट्टराई बताउनुहुन्छ । मौरीपालनप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या नै प्रमुख कारण रहेको छ ।

वार्षिक दुई हजार केजीससम्म मह उत्पादन गर्दै आएएको शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभाबी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठुलो सङ्कट निम्तिएको बताए । किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्याउनसके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं