सुनसरी । यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल बनेपछि स्थानीय फूलको उत्पादन बढेको छ । बजारमा फूलको आपूर्ति पर्याप्त हुँदा मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घटेपछि किसानले लागतसमेत उठाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारीसमेत घाटामा परेका छन् ।
विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए । किसानबाट प्रतिमुठा ८० रुपैयाँमा खरिद गरेको फूल अहिले बजारमा ५० रुपैयाँमा बिक्री गर्नुपरेको उनको भनाइ छ । गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनले बताए ।

चौधरीका अनुसार गत वर्ष ठूलो एक बन्डल फूल ७०० रुपैयाँका दरले बिक्री भएको थियो । त्यतिबेला १० हजार बन्डलसम्म बिक्री भएकोमा यस वर्ष भने एउटा बन्डल ५०० रुपैयाँमा समेत मुस्किलले बिक्री भइरहेको छ । उनले धनकुटाको थलथले क्षेत्रका किसानबाट फूल खरिद गरी धरान–१३ स्थित कृषि उपज बजारमा ल्याएर बिक्री गर्दै आएका छन् ।

पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गरेका अर्का व्यापारी सिम यादवले पनि मूल्य घटेका कारण सुरुमै घाटा व्यहोर्नुपरेको बताए । “धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको थिएँ”, उनले भने, “प्रतिमुठा ७० देखि ८० रुपैयाँमा खरिद गरेको फूल अहिले ४० देखि ५० रुपैयाँमा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको छ ।”
धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेकाले बजार मूल्य घटेको बताए । उनका अनुसार गत वर्ष प्रतिमुठा १०० रुपैयाँमा बिक्री भएको फूल यस वर्ष ४० देखि ५० रुपैयाँमा उपलब्ध भइरहेको छ । त्यसैगरी गत वर्ष प्रतिमाला २०० देखि २५० रुपैयाँसम्म पर्ने फूलमाला यस वर्ष १०० रुपैयाँमै सहजै पाउन सकिने अवस्था रहेको उनले बताए ।
व्यवस्थापक भट्टराईका अनुसार धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको छ । लक्ष्मीपूजा, कुकुरपूजा, घर सजावट, ढोका तथा गेटमा लगाउन र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ ।
यस वर्ष स्थानीय उत्पादन पर्याप्त भएकाले उपभोक्तालाई राहत मिले पनि किसान र व्यापारी भने मारमा परेको भट्टराईले बताए । धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन् । तिहारका अवसरमा उक्त बजारबाट हरेक वर्ष पाँच करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको उनले जानकारी दिए ।
सुनसरी उद्योग वाणिज्य संघका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताए । स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधिसमेत बढेको उनको भनाइ छ ।
तिहारका बेला फूलको कारोबारसँगै दिदीबहिनीले दाजुभाइलाई दिने उपहार सामग्री, काजु, किसमिस, सुन्तलालगायत फलफूल तथा विभिन्न खाद्य सामग्रीको बिक्री पनि बढ्ने गरेको छ । यस्ता सामग्रीको किनबेचले बजारलाई थप चलायमान बनाएको खतिवडाले बताए ।
स्थानीय फूलको उत्पादन र कारोबार बढे पनि पर्याप्त आपूर्तिका कारण मूल्य घट्दा यस वर्ष किसान तथा व्यापारीले अपेक्षित आम्दानी गर्न सकेका छैनन् । उपभोक्ताले भने गत वर्षको तुलनामा सस्तो मूल्यमा फूलमाला पाउने अवस्था बनेको छ ।