काठमाडाैं । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा आज बिहान फेरि सुक्खा पहिरो खसेको छ ।
पहिरोले पृथ्वी राजमार्ग बन्द छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार बिहान पौने ४ बजे पहिरो खसेको हो । सुक्खा पहिरोले दुईतर्फी नै सडक अवरुद्ध छ ।

पृथ्वी राजमार्गको घोप्टेभीरमा आइतबार, सोमबार र हिजो मंगलबार लगातार पहिरो खसेपछि यात्रुलाई सास्ती भएको छ । विशेष गरी तिहार मनाउन आवतजावत गर्नेहरू समस्यामा परेका छन् ।

हिजो दिउँसो सडक खुलेको भए पनि आज बिहानै फेरि पहिरो खस्दा बन्द भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक द्वारिका खवासले जानकारी दिनुभयो ।
पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी भित्रने र बाहिरिने गाडी रोकिएका छन् ।