Lite Nepal

शुक्रबार, कार्तिक २७, २०८३

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडाको भू-उपयोग क्षेत्र वर्गीकरण टुङ्ग्याएर अन्तिम प्रतिवेदन नापी कार्यालयमा पठाएपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट अघि बढाउने बाटो खुलेको छ । महानगरले एक महिनाभित्र भू-सेवा सञ्चालनमा ल्याउने लक्ष्य पनि राखेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माका अनुसार महानगरले २०८३ कात्तिक २७ गते नापी कार्यालय विराटनगरलाई पत्र पठाएर भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण र अन्तिम प्रतिवेदन कार्यान्वयनका लागि बुझाएको हो ।

महानगरको भू-उपयोग परिषद्ले स्वीकृत गरेका आधार र मापदण्डअनुसार वर्गीकरण तयार पारिएको थियो । नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयबमोजिम महानगरले १९ वटै वडाको अन्तिम प्रतिवेदन, विद्युतीय तथ्यांक र तथ्यांक भण्डारण प्रणालीसम्बन्धी कागजात नापी तथा भूमि प्रशासन कार्यालयमा बुझाएको शर्माले जानकारी दिए ।

यसअघि भू-उपयोग क्षेत्र वर्गीकरण र त्यससँग जोडिएको प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा महानगरमा कित्ताकाट प्रभावित हुँदै आएको थियो । वर्गीकरणको विवरण सम्बन्धित कार्यालयमा पुगेपछि रोकिएका कित्ताकाटका काम अघि बढाउन सकिने भएको छ ।

भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा
महानगर प्रमुख नागेश कोइरालाले एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित तयारी अघि बढाइएको बताएका छन् । शर्माका अनुसार तयारी अहिले प्रारम्भिक चरणमा छ । आवश्यक प्राविधिक र प्रशासनिक व्यवस्था पूरा भएपछि सेवा सञ्चालनमा ल्याइने उनले बताए ।

भू-सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण विद्युतीय प्रणालीमा व्यवस्थित गर्न र सेवाग्राहीलाई सेवा दिन सहज हुने महानगरको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं