Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

भोजपुर । बाँदरको बढ्दो समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि भोजपुरका किसान अदुवा खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदो लगायतका बालीमा क्षति पुर्‍याउन थालेपछि किसानले अदुवा खेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् ।

भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवा खेती सुरु गरेको बताइन् । जमिनमुनि फल्ने भएकाले अदुवा बाँदरबाट सुरक्षित रहने उनको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्न सके परम्परागत खाद्यबालीको तुलनामा अदुवाबाट राम्रो आम्दानी लिन सकिने उनले बताइन् ।

बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुँदै गएपछि अदुवा खेती तुलनात्मक रूपमा सहज विकल्प बनेको खड्काको भनाइ छ । बाँदरको हैरानीका कारण खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवा खेती उपयोगी विकल्प बन्न सक्ने उनले बताइन् ।

त्यस्तै, अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएकी छन् । आगामी दिनमा खेतीको क्षेत्रफल थप विस्तार गर्ने उनको योजना छ । बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवा खेतीलाई प्राथमिकता दिएको पोखरेल बताउँछिन् ।

पोखरेलका अनुसार स्थानीय बजारमा अदुवा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा पनि सहजता रहेको उनले बताइन् । स्थानीय बजारमा राम्रो मूल्य पाउनुका साथै प्रशोधन गरेर बिक्री गर्न सकिने भएकाले उत्पादन खेर जाने जोखिमसमेत कम रहेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ । खेतबारीमा लगाइएका धान, मकै, कोदोलगायतका बाली नष्ट गर्दा किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ । यसले परम्परागत खेतीप्रति किसानको आकर्षण घटाउँदै वैकल्पिक नगदेबालीतर्फ लाग्न प्रेरित गरेको छ ।

स्थानीय बजारमा अदुवाको राम्रो मूल्य रहेकाले यसको व्यावसायिक खेती विस्तार गर्न सके किसानको आयआर्जन बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ । बाँदरबाट हुने क्षति न्यूनीकरणसँगै किसानको आम्दानी बढाउन अदुवा खेती प्रभावकारी विकल्प बन्न सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं