Lite Nepal

सोमबार, कार्तिक ३०, २०८३

विराटनगर । मान्छेका लागि सामान्य लाग्ने गाडीको हर्न, सहरको कोलाहल र कलकारखानाबाट निस्कने आवाजले वन्यजन्तुको ज्यानै लिन सक्छ । झट्ट पढ्दा या सुन्दा अचम्म लाग्न सक्छ । तर, मानिसहरूका लागि सामान्य लाग्ने यस्ता आवाज वन्यजन्तुका लागि भने ठूलो खतरा बनिरहेका छन्।

हालै वैज्ञानिक जर्नल साइन्समा प्रकाशित एक अध्ययनले मानवसिर्जित ध्वनि प्रदूषणका कारण वन्यजन्तुको मृत्युदर १३८ प्रतिशतसम्म बढ्न सक्ने खुलासा गरेको छ। ६ महादेशका १७७ जलचर तथा स्थलचर प्रजातिमा गरिएको २१४ वटा अध्ययनको विश्लेषणबाट यस्तो तथ्य बाहिर आएको हो।

अध्ययनअनुसार ध्वनि प्रदूषणले ८० प्रतिशत प्रजातिमा कम्तीमा एउटा शारीरिक, विकासात्मक वा व्यवहारगत पक्षमा नकारात्मक असर पारेको छ। अझ रोचक कुरा त के छ भने, ध्वनि प्रदूषण भएको वातावरणमा सिकारी जनावरले सिकार खोज्न सामान्य अवस्थाभन्दा २ दशमलव ५ गुणा बढी मेहनत गर्नुपर्छ। तर, यति धेरै प्रयास गर्दा पनि सिकार गर्ने सफलता भने २५ प्रतिशतले घट्छ।

किन यस्तो हुन्छ त ? 

किनभने मानवसिर्जित चर्को आवाजले सिकार हुने जनावरको चाल र गतिविधिबाट निस्कने प्राकृतिक ध्वनि छोपिदिन्छ। जसका कारण सिकारीलाई सिकार पत्ता लगाउन कठिन हुन्छ।

यतिमात्र होइन, आवाजबाट बच्न लुक्ने ठाउँ खोज्ने जनावरहरू कतिपय अवस्थामा प्रतिध्वनिका कारण झन् असुरक्षित महसुस गरेर बाहिर निस्कन बाध्य हुन्छन्। ध्वनि प्रदूषणले जनावरको शरीरभित्र समेत गम्भीर असर पार्छ। यसले तनाव बढाउने, कोषिकामा क्षति पुर्‍याउने, रोगप्रतिरोधी क्षमता परिवर्तन गर्ने र प्रजनन प्रक्रियामा समेत असर गर्ने अध्ययनले देखाएको छ।

यसको असर जमिनमा मात्र होइन, समुद्रमा पनि देखिएको छ। जहाजका इन्जिन, पानीमुनिको निर्माण कार्य र सोनारबाट निस्कने आवाजले ह्वेल र डल्फिनजस्ता जीवको सञ्चार, आहार खोज्ने र बाटो पहिचान गर्ने क्षमतामा बाधा पुर्‍याइरहेको छ।

अब प्रश्न उठ्छ, वन्यजन्तु संरक्षण गर्न हामीले के गर्नुपर्छ ?

अनुसन्धानकर्ताहरूका अनुसार जंगल, नदी र समुद्रको बासस्थान जोगाउनुका साथै प्राकृतिक ध्वनि वातावरण पनि संरक्षण गर्न आवश्यक छ। मानव गतिविधिबाट निस्कने आवाज कम गर्न कम ध्वनि हुने क्षेत्र निर्माण गर्नु पनि प्रभावकारी उपाय हुन सक्छ।

त्यसैले अब वातावरण संरक्षण गर्दा धुवाँ र फोहोर मात्र होइन, आवाज प्रदूषणलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ। किनकि हामीलाई सामान्य लाग्ने आवाज पनि कुनै वन्यजन्तुका लागि जीवन र मृत्युबीचको फरक बन्न सक्छ१

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं