भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसानले अपेक्षाअनुसार आम्दानी गर्न नसकेका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) २० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष यही समयमा प्रतिमन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म मूल्य घटेको राउतले बताए ।

उनका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको छ । उत्पादन बढे पनि बजार मूल्य घट्दा किसानले अपेक्षित आम्दानी लिन नसकेको उनले बताए ।

राउतका अनुसार यस वर्ष हालसम्म उनले करिब २०० मन चिराइतो संकलन गरिसकेका छन् । आफ्नै घरमा समेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको उनले जानकारी दिए । उत्पादन भएको चिराइतो बिक्रीका लागि तयार भए पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेको उनको भनाइ छ ।
चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले मूल्य घटेको राउतले बताए । उनका अनुसार चिराइतोको माग र बिक्रीको अवस्थाले बजार मूल्य निर्धारणमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामा समेत किसानले उचित मूल्य पाउन नसकेको उनले बताए ।
चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो संकलन गरेर बिक्री गर्दै आएका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत बन्दै आएको छ ।
चिराइतो खेती तथा सङ्कलनबाट किसानले परम्परागत खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन् । यसको उत्पादन, संकलन , ओसारपसार तथा बिक्री वितरणमा स्थानीय व्यवसायीसमेत संलग्न छन् । तर बजार मूल्यमा हुने उतारचढाव र निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्दै आएको छ ।
स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन प्रभावकारी बनाउन र उत्पादनअनुसार उचित मूल्य पाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । बजार सुनिश्चित हुन सके चिराइतो खेतीबाट ग्रामीण क्षेत्रका किसानको आम्दानी थप बढाउन सकिने उनीहरूको भनाइ छ ।