विराटनगर । क्यान्सर रोगसँग लामो समयदेखि संघर्ष गरिरहेका पत्रकार कविन्द्र शेर्मा (लिम्बु) को निधन भएको छ। काठमाडौंस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा ४३ वर्षको उमेरमा उनको निधन भएको हो।
पछिल्ला केही वर्षदेखि क्यान्सर रोगबाट पीडित शेर्मा उपचाररत थिए। पाँचथरको कुम्मायक गाउँपालिका–माङजाबुङका स्थायी बासिन्दा उनी सदरमुकाम फिदिममा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय थिए।

शेर्माले रेडियो तथा विभिन्न पत्रपत्रिकामा लामो समय काम गरेका थिए। उनी रेडियो नेपालको संवाददाताका रूपमा समेत लामो समय कार्यरत थिए। पाँचथरमा सुम्हालुङ एफएम, इगल एफएम र पाँचथर एफएमको स्थापना तथा सञ्चालनमा उनको महत्वपूर्ण योगदान रहेको थियो।

पत्रकारितामार्फत जिल्लाको सञ्चार क्षेत्रको विकासमा योगदान पुर्याएका शेर्माका दुई छोरा छन्। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर पाँचथर ल्याएर अन्त्येष्टि गरिनेछ।