विराटनगर । लामो समयदेखि अलपत्र परेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार मोटरेबल पुल निर्माणको काम अघि बढेको छ । पुलको भेरिएसनमा देखिएको समस्या समाधान भएसँगै निर्माण कार्य अघि बढ्ने सुनिश्चित भएको छ । पुरानो डिजाइनमा थप एक मिटर उचाइ बढाएर पुलको भेरिएसन गरिएको छ । भेरिएसन गर्दा लागत ४ करोड ८५ लाख रुपैयाँ वृद्धि भएको छ । भेरिएसन स्वीकृत भएसँगै अबको १८ महिनाभित्र अर्थात् २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङ्बोलगायतको टोलीले आइतबार निर्माण स्थलको अनुगमन गरेको छ । टोलीले स्थानीय बासिन्दा र निर्माण व्यवसायीसँग छलफल गर्दै पुल निर्माण अब नरोकिने विश्वास दिलाएको हो ।

मुख्यमन्त्री कार्की र मन्त्री आचार्यले बजेट अभाव हुन नदिई निर्धारित समयमै आयोजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माण व्यवसायीलाई पनि तोकिएको समयभित्र काम सक्न निर्देशन दिँदै समय सीमाभित्र काम पूरा नभए ठेक्का सम्झौता तोडेर कानुनी प्रक्रियाबाट आयोजना अघि बढाइने चेतावनी दिएका छन् ।

कोशी प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक इन्जिनियर सुशील श्रेष्ठका अनुसार भेरिएसन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढ्नेछ । उनले अबको १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीका प्रतिनिधिले पनि व्यक्त गरेको जानकारी दिए ।
उनका अनुसार बाढीको जोखिमलाई ध्यानमा राखेर पुलको पुरानो डिजाइनभन्दा उचाइ एक मिटर बढाइएको हो । उचाइ बढाउँदा प्रयोग हुने फलामको परिमाणसमेत बढेकाले लागत संशोधन गर्नुपरेको हो । पुल निर्माण हुने स्थान भने परिवर्तन गरिएको छैन ।
९० मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको सुरुको ठेक्का रकम २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ २१ पैसा थियो । भेरिएसनपछि लागत बढेर २६ करोड ८ लाख ३६ हजार ७२६ रुपैयाँ ७७ पैसा पुगेको छ । यसअनुसार ४ करोड ८५ लाख २४ हजार ३१९ रुपैयाँ ५६ पैसा अर्थात् २२.८६ प्रतिशत लागत वृद्धि भएको छ । स्टिल संरचनाको परिमाण पनि ३६४.७७ मेट्रिक टनबाट बढाएर ४९५.६६ मेट्रिक टन पु¥याइएको छ ।
निर्देशनालयले उपलब्ध गराएको प्राविधिक विवरणअनुसार पुलको भौतिक प्रगति १९.७० प्रतिशत र वित्तीय प्रगति १९.५० प्रतिशत रहेको छ ।
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको चुहार जोड्ने यो पुल नबन्दा दक्षिणी भोजपुरका हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिकाका नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । नदीमा मोटरेबल पुल नहुँदा सामान भरियामार्फत ओसार्नुपर्ने र तराईका बजारसम्म पुग्न लामो दूरी घुम्नुपर्ने बाध्यता छ ।
पुल बनेपछि दक्षिणी भोजपुरका बासिन्दालाई उदयपुर हुँदै धरान, इटहरीलगायत तराईका बजारसम्म पुग्न सहज हुनेछ । कृषि उपजको ढुवानी, व्यापार, उपचार तथा दैनिक आवागमनमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।
२०७७ असोज २६ मा शिलान्यास भएको पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर पाँच वर्ष बित्दासमेत निर्माणले पूर्णता पाउन सकेन । अब भने स्थानीयले लामो समयदेखिको प्रतीक्षा पूरा हुने आशा गरेका छन् ।