नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भेट्न भारतका विदेशमन्त्री एस जयशंकर उनी बसेको ताज होटल पुगेका छन् । उनीहरूबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटवार्तामा भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणका कार्यक्रमबारे प्रधानमन्त्री बालेनलाई जानकारी गराउनेछन् ।

भारतको दुईदिने राजकीय भ्रमणको सिलसिलामा प्रधानमन्त्री बालेन आजै नयाँ दिल्ली आइपुगेका हुन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेनलाई भारतका बाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए ।

सोमबार प्रधानमन्त्री बालेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन अन वन’ भेटवार्ता हुनेछ । त्यसपछि नेपाल र भारतबीच प्रतिनिधिमण्डल स्तरीय बैठक हुनेछ ।
प्रतिनिधिमण्डल स्तरीय बैठकपछि केही समझादरीपत्र र सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री ‘प्रेस ब्रिफिङ’मा सहभागी हुनेछन् ।
प्रधानमन्त्री बालेनले सोमबार नै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री बालेन सोमबार साँझ नेपाल फर्किने कार्यक्रम छ ।