नयाँ दिल्ली । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ ।
नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् ।

भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।
भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।
करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।
भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ।