धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागतमा भएको वृद्धिका कारण बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन । उद्योग बन्द भएपछि १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिसमेत प्रभावित भएको छ ।
छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा सञ्चालित उक्त उद्योगको दैनिक उत्पादन क्षमता छ हजार बोरा सिमेन्ट थियो । तर, आर्थिक मन्दी, बजारमा सिमेन्टको मागमा आएको कमी र कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण उत्पादन घटेर दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक दिनेश पौडेलले बताए । उनका अनुसार तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी छैन भने पुनः सञ्चालनको सम्भावनासमेत न्यून छ ।

सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नुपर्ने अवस्था आएको पौडेलको भनाइ छ । उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्थिति र चिसो मौसमका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन भने औसत १५० टनमा सीमित हुने गरेको थियो ।

त्यस्तै, भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको उद्योगले जनाएको छ । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ बजारमा सिमेन्टको बिक्री घट्नुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए ।
उद्योग बन्द हुँदा स्थानीयस्तरमा रोजगारी गुम्नुका साथै कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिका लागि अर्को उद्योगमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ ।