झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ । सप्ताहव्यापी ‘राष्ट्रिय कर दिवस, २०८३’ को समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुने करदातामा झापाको एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामको अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङको आशिका आयल सप्लायर्स र पाँचथरको श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् ।

सोही अवसरमा कार्यालयका नायब सुब्बा टीकाराम दाहाललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमानदारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताए । उनले कर तिर्नुलाई राष्ट्रको समृद्धिमा योगदानका रूपमा लिनुपर्ने उल्लेख गर्दै करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘इमानदारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो । करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ । कर न्याय छिटोछरितो हुनुपर्छ,’ उनले भने ।
उनले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्र नभई राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्त्वपूर्ण कडी भएको बताए ।
नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सकेमा मात्रै कर प्रणालीप्रति विश्वास र सुशासन कायम हुने उनको भनाइ थियो ।
थापाले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।