काठमाडौं । भारतमा पक्राउ गरेर नेपाल ल्याइएका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थप गर्न अदालत लगिंदै छ । उनलाई केही समय अघि काठमाडौं पुर्याइएको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर काँकडभिट्टा नाका हुँदै भद्रपुर विमानस्थलबाट हवाइमार्गभएर काठमाडौं लगिएको हो ।

विमानस्थलबाट अर्याललाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो । उनलाई अहिले सीआईबीबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिंदैछ ।

मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।