यमबहादुर दुरा

शुक्रबार, बैशाख २४, २०७८

सामाजिक सञ्जाल ‘फेसबुक’मा पोस्ट हुने ‘कन्टेन्ट’हरूमा तस्बिरकै प्रचुरता छ । ती तस्बिरको भीडमा सम्मान÷पुरस्कार ग्रहण गरिएका दृश्यले ठूलै हिस्सा ओगट्छन् । त्यस्ता दृश्यमा पत्रकारका हँसिला अनुहार पनि पर्छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा पत्रकार पुरस्कृत भएका तस्बिरसहित समाचार बरोबर आइरहन्छन् । समाजको पहरेदारी गर्ने एउटा सचेत वर्ग पुरस्कृत हुनुलाई सोझो अर्थमा बेठीक भन्न मिल्दैन । तर पत्रकारले पुरस्कार ग्रहण गरेको प्रसंग समाजका चिन्तनशील समूहका अघिल्तिर प्रश्नविहीन अवस्थामा रहन सक्दैन । पत्रकारले पुरस्कार थाप्दै हिँड्दा उसको नैतिक र पेसागत धरातल धर्मराउँछ भन्ने एकथरीको मान्यता छ । त्यसैले, पत्रकारले पुरस्कार ग्रहण गरेमा समाजका सचेतले वर्गले सजिलै र सहजै स्वीकारेको पाइँदैन ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रूपमा जारी गरेको ‘पत्रकार आचारसंहिता २०७३’ ले पेसागत मर्यादा र दायित्वमा प्रतिकूल असर पर्ने गरी पुरस्कार लिन नहुने प्रस्ट पारेको छ । उक्त आचारसंहिताको दफा १३ ले ‘पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पुरस्कार, उपहार वा सम्मान लनु हुँदैन भनेको छ ।

पुरस्कार दिने संस्था वा व्यक्तिको भित्री अभीष्ट, त्यस्ता व्यक्ति वा संस्थाको पुरस्कार पाउने व्यक्तिसँगको सम्बन्ध र पुरस्कारका लागि व्यक्ति छनोट गर्ने प्रक्रियामा अपनाइने पारदर्शिता र निष्पक्षताले पुरस्कारको महत्व र गरिमा निर्धारण गर्छ । पत्रकारलाई प्रदान गरिने पुरस्कारप्रति सभ्य समाजले सधैं स्वस्थ्य किसिमले आशंका गर्छ । कतिले त यसप्रति एकदमै आलोचनात्मक दृष्टिकोण पनि राख्छन् । नोम चोम्स्कीका अनुसार पुरस्कारले आमसञ्चारमाध्यम र पत्रकारको विवेकमा नजानिँदो किसिमले लगाम लगाइदिन्छ ।

प्राध्यापक तथा अनुसन्धाताहरूले पनि समाजलाई अदृश्य रूपमा गहिरो गुन लगाएका हुन्छन्, तर उनीहरू कमै पुरस्कृत हुन्छन् । कारण स्पष्ट छ, उनीहरूका हातमा पत्रकारको जस्तो ठूलो शक्ति हुँदैन । आमसञ्चारमाध्यममार्पmत जनसमुदायलाई नियन्त्रण गर्न सकिने भएकोले शक्तिकेन्द्रहरू पत्रकारलाई हातमा लिन चाहन्छन् । पुरस्कार एउटा उपाय हो, जसले पत्रकारलाई आफ्नो पक्षमा उभ्याउन सहयोग गर्छ । पुरस्कारसम्बन्धी राजनीतिको नाभी यहींनेर अवस्थित छ ।

नेपालमा व्यापारिक घराना, राजनीतिक दल एवं गैरसरकारी संस्थाहरूले विभिन्न बहाना र आवरणमा पत्रकारलाई पुरस्कृत गरिरहेका छन् । सरकारले प्रदान गर्ने पुरस्कार पनि प्रेमपूर्वक ग्रहण भइरहेका छन् । पुरस्कार दिएर पत्रकारको मन राख्ने र इष्ट बढाउने क्रम चलिरहेकै छ ।

देशको अर्थतन्त्रमै प्रभाव जमाउन सक्ने व्यापारिक घरानाले सञ्चारगृहको विज्ञापन तथा अन्य यस्तै प्रकृतिको आम्दानीमाथि प्रभुत्व नजमाउने कुरै भएन । त्यसमा पनि तिनीहरूबाटै पुरस्कृत भएपछि तिनका कर्तुत उजागर गर्न पत्रकारलाई गाह्रो पर्छ ।

दलले दिने पुरस्कारले पत्रकारलाई कार्यकर्ताको हैसियतमा थन्क्याउन चाहन्छ । संघसंस्थाले दिने पुरस्कारले उसप्रतिको आलोचनात्मक क्षमता भुत्ते बनाइदिन सक्छ । सरकारले दिने पुरस्कारले उसका गलत रवैयाहरूप्रति आँखा चिम्लिन पत्रकारलाई प्रेरित तुल्याउँछ ।

पुरस्कारको ओइरोले पत्रकारको सत्य खोज्ने जिम्मेवारी र विकृतिप्रति आलोचनात्मक बन्ने क्षमतामा धक्का पुर्‍याउँछ भन्ने मान्यताबाट प्रेरित भई पुरस्कार नस्वीकारिएका दृष्टान्त पनि छन् ।

भारतीय पत्रकार निखिल चक्रवर्ती (सन् १९१३–१९९८) ले सन् १९९० को ‘पद्म भूषण’ सम्मान अस्वीकार गरेका थिए, जुन सरकारी स्तरबाट प्रदान गरिने तेस्रो उच्च सम्मान हो । अर्का भारतीय पत्रकार खुसवन्त सिंह (सन् १९१५–२०१४) ले आफूले सन् १९७४ मा पाएको ‘पद्म भूषण सम्मान–१९७४’ सन् १९८४ मा फिर्ता गरेका थिए । अमृतसरस्थित स्वर्णमन्दिरमा घटित घटनामा सरकारले ज्यादती गरेको भन्दै सम्मान फिर्ता गरेका थिए, उनले ।

जर्मनीको लोकप्रिय अखबार ‘स्विटड्वेच जाइटुंग’ले चर्चित जर्मन पत्रकार हेनरी नानेन (सन् १९१३–१९९६) को नाममा स्थापित पत्रकारिता पुरस्कार अस्वीकार गरेको थियो । अमेरिकाको पुलिट्जर पुरस्कारकै हाराहारीकै सम्मानजनक मानिने उक्त पुरस्कार खोजी पत्रकारिताका लागि सन् २०१२ मा दिने घोषणा गरिएको थियो । ‘द टाइम्स अफ इन्डिया’का पत्रकार अक्षय मुकुलले प्रतिष्ठित ‘रामनाथ गोयन्का पत्रकारिता पुरस्कार, २०१६’ अस्वीकार गरेका थिए ।

प्रस्तुत दृष्टान्तले पुरस्कारप्रतिको आलोचनात्मक दृष्टिकोणको पृष्ठपोषण गर्छ  । अर्कोतिर, नेपालजस्तो राजनीतिक अस्थिरता, पत्रकारले न्यून वेतनमा काम गर्नुपर्ने अवस्था तथा सामाजिक असुरक्षा कायम रहेको मुलुकमा पत्रकारलाई पुरस्कृत गर्ने कार्यले आशंका जन्माउँछ । पुरस्कार लिनेदिनेले ‘कुरोको चुरो’ नबुझेका होइनन्, तर सबै ‘तैं चुप मै चुप’ छन् ।

पुरस्कारबारे यसप्रकारको टीकाटिप्पणी गरिरहँदा पुरस्कारको गरिमा र प्रतिष्ठामाथि प्रश्न उठाएको अर्थ नलागोस् । निर्मल विचारले प्रदान गरिएका पुरस्कारबारे केही भन्नु छैन । पत्रकारिताको निष्पक्षतामा प्रभाव नपर्ने गरी स्पष्ट मापदण्ड तयार गरेर स्वतन्त्र तरिकाले प्रदान गरिएका पुरस्कारको महत्वलाई नकार्न सकिन्न ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं