Lite Nepal

बिहिबार, आषाढ २४, २०७८

यतिबेला गायक प्रकाश सपूतले गाडी किनेको खबर चर्चामा छ। प्रकाशले झन्डै ५० लाखमा हुन्डाईको क्रेटा किनेका हुन्। उनले किनेको गाडी सेतो रङको छ। मंगलबार प्रकाशले गाडीको भ्लगसँगै फेसबुकमा स्टाटस पोस्ट गरेका छन्।

‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो। साथ, सहयोग, शुभेच्छा तपाईंहरुको,’ स्टाटसमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई हौसला हुनसक्छ। कलाकार मात्र भएर पनि कार चढ्न सकिन्छ है।’ गाडी किन्ने दक्षता बनाउन सकेकोमा प्रकाश खुसी छन्। नयाँ गाडीको किनेको खुसीमा उनले विगत पनि सम्झिए।

 

‘झन्डै नौ वर्षअघि करिअर बनाउने सपना बोकेर काठमाडौं आएको थिएँ। बाग्लुङबाट नाइट बसको सिट नम्बर ११ मा बसेर काठमाडौं आएको मलाई अझै याद छ,’ उनले भने, ‘त्यो बेला मलाई सेलेब्रेटीहरूले मात्र राम्रो गाडी चढ्छन् भन्ने लाग्थ्यो। बाटोमा राम्रो अनि चिल्ला गाडी देख्दा पनि हेरिरहन्थेँ।’

प्रकाशका अनुसार त्यो २०६९ साल जेठ २२ गतेको दिन थियो। प्रकाशको काठमाडौं आएदेखि गाडी किन्ने इच्छा थियो। त्यसबेला २१ वर्षे अल्लारे उनले मनमनै भविष्यमा गाडी चढ्ने सपना देख्न थाले। जुन सपना अहिले पूरा भएको छ। पछिल्लो समय संगीत क्षेत्रमा चर्चा कमाएका प्रकाशको यो पहिलो गाडी हो।

यसभन्दा अघि उनी पल्सर २२० मोटरसाइकल चढ्थे। उनले झन्डै डेढ वर्ष सेकेन्ड ह्यान्ड बाइक चढे। त्योभन्दा अघि प्लेजर स्कुटर चढे। त्यो पनि उनले काठमाडौं आएको झन्डै ५ वर्षपछि सेकेन्ड ह्यान्ड मोटरसाइकल किनेका थिए।

 

‘यो गाडी नै मेरो पहिलो नयाँ सवारी साधन हो। गाडी देखाउनका लागि किनेको होइन। मजस्तै निम्न तहबाट उठेर पनि सफलता पाउन सकिन्छ भन्ने प्रेरणा मिलोस् भन्न चाहन्छु,’ उनले भने।

गाडी किनेसँगै उनलाई बुवाले पनि पुराना कुराको सम्झना गराएको बताए। ‘पहिले हाम्रो गाउँमा बाटो पुगेको थिएन। पारी गाउँमा गाडी चल्ने बाटो थियो। यता गाउँबाट पारी गाउँमा कति वटा गाडी चल्यो भन्ने गन्दै बस्थ्यौं,’ बुवाको भनाइमा उनले भने, ‘अब भने हामी आफ्नै गाडी चढ्न पाइने भयो भन्नुहुन्छ।’

प्रकाशले गाडीको लाइसेन्स लिएका छैनन्। अहिले गाडी उनका भाइले चलाउनेछन्। तर छिट्टै लाइसेन्स निकालेर परिवारलाई लिएर लामो यात्रामा जाने उनको योजना छ।

प्रकाशका ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘दोहोरी ब्याटल’, ‘मेरो पनि होइन र यो देश?’ लगायत गीत लोकप्रिय छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा