Lite Nepal

बिहिबार, भाद्र १८, २०८३

सुनसरी । नेपाल प्रहरीबाट अवकाश पाएपछि अब के गर्ने भन्ने चिन्ताले अर्जुन विष्टलाई पनि पिरोलेको थियो। उमेर र जोस बाँकी रहेकाले केही न केही गर्नुपर्छ भन्ने सोचका साथ उनले विदेश जाने विकल्प रोजेनन्। देशमै बसेर आर्थिक उपार्जन गर्ने र अरूका लागि उदाहरण बन्ने लक्ष्यसहित कृषि व्यवसाय सुरु गरे।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट अहिले सफल व्यावसायिक कृषकका रूपमा स्थापित भएका छन्। कृषि व्यवसायबाट वार्षिक रु २८ लाखसम्म आम्दानी हुने गरेको उनले बताए।

विसं २०७७ मा प्रहरी सेवाबाट अवकाश लिएपछि उनले अवकाशबापत प्राप्त रु १४ लाख लगानी गरेर कृषि व्यवसाय सुरु गरेका हुन्। नेपाल प्रहरीमा १७ वर्ष सेवा गरेका विष्ट अहिले करिब पाँच बिघा क्षेत्रफलमा केरा, भूइँकटहर, खरबुजा, मेवा, सयपत्री फूल, दाल, तोरी, साग, मकै र धानलगायत खेती गर्दै आएका छन्।

केरा बिक्रीबाट मात्रै वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको विष्टले बताए। बारीबाटै उत्पादित केरा प्रतिदर्जन थोकमा रु ५० का दरले बिक्री हुने गरेको छ। स्थानीय बजार चक्रघट्टी, कालाबञ्जर र चतराका साथै इटहरी, धरान र गाईघाटसम्म केरा पठाउने गरिएको उनले जानकारी दिए।

उनले चिनियाँ चम्पा र कृष्णभोग जातका केरा लगाएका छन्। एउटा बोटबाट १५ देखि २० दर्जनसम्म फल उत्पादन हुने गरेको उनको भनाइ छ। केरा रोपेको एक वर्षपछि उत्पादन लिन सकिन्छ। तर, रोगकिराको नियन्त्रण, गोडमेल तथा अनावश्यक बोट हटाउनेलगायत काममा नियमित मेहनत आवश्यक पर्ने उनले बताए। “खेतीमा आफैँ समय दिन सकिएन भने उत्पादन राम्रो हुँदैन,” विष्टले भने।

भूइँकटहर बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको उनले बताए। गत वर्ष करिब रु १५ लाख बराबरको भूइँकटहर बिक्री गरेको उनको भनाइ छ। भूइँकटहर प्रतिगोटा रु २०० सम्ममा बिक्री हुने गरेको छ। यसको मुख्य सिजन असारदेखि भदौसम्म रहने गर्छ।

भारतबाट ठूलो परिमाणमा भूइँकटहर आयात हुँदा नेपाली उत्पादनको मूल्य प्रभावित हुने गरेको विष्टले बताए। “यस वर्ष नेपाली भूइँकटहरले राम्रो बजार मूल्य पायो, त्यसैले आम्दानी पनि राम्रो भयो,” उनले भने।

विष्टले १२ कट्ठा क्षेत्रफलमा खरबुजा खेतीसमेत गरेका छन्। भारतबाट बीउ ल्याएर खरबुजा खेती गर्दै आएका उनले उत्पादित खरबुजा थोकमा प्रतिकिलो रु ५० मा बिक्री हुने बताए।

उनका अनुसार खेतमा उत्पादित कृषि उपज धरान कृषि बजार, इटहरी, दमक, विराटनगर तथा झापासम्म बिक्री हुने गरेको छ। मकै र धान बिक्रीबाट मात्रै वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने उनले बताए।

उत्पादित फलफूल तथा कृषि उपजको बिक्री र बजारसम्म पुर्‍याउन सहज होस् भनेर विष्टले करिब दुई वर्षअघि ‘विष्ट फलफूल पसल’ समेत सञ्चालनमा ल्याएका छन्। पसल सञ्चालन गरेपछि आफ्नै उत्पादन आफैँ बिक्री गर्न सहज भएको उनको भनाइ छ।

यस वर्ष फलफूल खेतीमा बाढीको असर नपरेको र रोगकिराको समस्या पनि कम भएकाले उत्पादन राम्रो भएको विष्टले बताए। तर, गत वर्षको बाढीबाट करिब रु १० लाख बराबरको क्षति भएको उनले जानकारी दिए। बाढीका कारण १२ कट्ठामा लगाइएको खरबुजा नष्ट भएको थियो भने बिक्रीका लागि तयार सयपत्री फूलसमेत डुबानमा परेको थियो। केराखेतीमा पनि ठूलो क्षति पुगेको उनले बताए।

विष्टले कृषि व्यवसायमार्फत स्थानीयलाई रोजगारीसमेत दिँदै आएका छन्। ज्यालादारी मजदुरका लागि मात्रै वार्षिक रु पाँच लाखसम्म खर्च हुने गरेको उनले बताए। गोडमेल, केरा काट्ने, फलफूल बोक्ने, भूइँकटहर ढुवानी गर्ने, जमिन जोत्ने र रोपाइँलगायत काममा स्थानीय मजदुर परिचालन हुने गरेका छन्।

प्रहरी सेवाबाट अवकाशपछि अन्य व्यापार व्यवसायबाट अपेक्षित आम्दानी नहुने देखिएपछि कृषि पेसामा लागेको विष्टले बताए। सुरुआती दिनमा भने कृषि व्यवसाय सुरु गर्न सहज नभएको उनको अनुभव छ। खेत तयार पार्नेदेखि सिँचाइको व्यवस्था गर्नेसम्मका काममा निकै मेहनत गर्नुपरेको उनले बताए।

कृषिमा प्रभावकारी अनुदानको व्यवस्था पर्याप्त नभएको उनको गुनासो छ। तर, अनुदानकै भरमा व्यवसाय गर्नुभन्दा प्रविधि र बजारको ज्ञान हासिल गरेर कृषि गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ।

“कृषिमा अनुदानको आस गर्नुभन्दा प्रविधि र बजारको ज्ञान भयो भने आफैँ राम्रो कमाउन सकिन्छ। कृषि गर्ने युवाले ठूलो ऋण लिएर व्यवसाय सुरु गर्नुभन्दा सानो क्षेत्रफलबाट थोरै लगानी गरेर सुरु गरे राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने।

कृषि पेसामा सफल हुन आफ्नै मेहनत आवश्यक पर्ने विष्टको अनुभव छ। “कामदार राखेर अर्काको भरमा मात्रै कृषि गर्ने हो भने सफल भइँदैन। आफैँ मेहनत गर्नुपर्छ,” उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं