Lite Nepal

शुक्रबार, भाद्र १४, २०८१

म्याग्दी– प्रमुख सामाजिक समस्याका रूपमा रहेको बालविवाह र हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।

बालविवाह, हिंसा र सामाजिक कुरीतिका विरुद्ध किशोरीहरूलाई सङ्गठित गराउने, नेतृत्व र क्षमता विकास गर्ने, प्रतिकार र कानुनी उपचारका लागि सक्षम बनाउने उद्देश्यले स्थानीय तह, सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन गरेका हुन् ।

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले १८ वर्षभन्दा कम उमेरमा गर्भवती हुनेको सङ्ख्या १९ प्रतिशत रहेको म्याग्दीमा बालविवाहका कारणले सृजना भएको हिंसा, विभेद र कुरीति कम गर्न किशोरीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको बताए।

‘कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई मान्यता नदिए पनि १८ वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या १९ प्रतिशत हुनुको प्रमुख कारण बालविवाह नै हो’, उनले भने, ‘किशोरीलाई कानुनी शिक्षा दिएर बालविवाह हुन नदिने र हिंसाबाट बचाउने उद्देश्यले प्रहरी, स्वास्थ्य, सामाजिक कार्यालय र स्थानीय तहको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।’

तीन–तीनवटा विद्यालयका १५–१५ जनाका दरले किशोरीलाई एउटा विद्यालयमा जम्मा गरेर प्रशिक्षण दिने, किशोरी सञ्जाल बनाई सामाजिक कुरीति, बालविवाह र हिंसाका विरुद्धमा सङ्गठित तथा कानुनी उपचार खोज्न अग्रसर हुन प्रेरित गरिएको थापाले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आर्थिक वर्ष २०८०-८१ मा घरेलु हिंसासम्बन्धी १७ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध आठवटा ठाडो उजुरी परेका थिए । सबै मिलापत्र भएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले किशोरीलाई सचेत र सक्षम बनाउँदै सभ्य तथा सुरक्षित समाज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

किशोरीमार्फत समाजमा हिंसा, विभेद, कुरीति र बालविवाहका विरुद्धमा सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ । बेनी सामुदायिक, बुद्ध एकेडेमी र माउन्ट एभरेष्ट आवासीय माविका ४५ जना किशोरीका लागि बेनी सामुदायिक माविमा बुधबारदेखि तीनदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाकी महिला विकास निरीक्षक प्रतिमादेवी शर्माले बताए।

‘प्रकाश मावि र म्याग्दी बहुमुखी क्याम्पसमा केन्द्र बनाएर प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको छ’, उनले भने, ‘गत वर्षको कार्यक्रममा छुटेका विद्यालयका किशोरीलाई यसपालि समेट्ने लक्ष्य छ ।’ कार्यक्रममा किशोरी स्वास्थ्य, किशोरीको वर्तमान अवस्था, समाज विकासमा किशोरीको भूमिका, आत्मरक्षा र योगाभ्यासका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं