दिलविक्रम आङदेम्बे

मंगलबार, भाद्र ०९, २०७७

 

वलुङ नेपालको हिमाली भेगमा बस्ने जनजाति समुदाय हुन्। उनीहरूको मुख्य बसोवास ताप्लेजुङको ओलाङचुङगोला, याङमा, घुन्सा, लुङथुङ र लेलेपलगायत गाउँ हो।

अहिले यी गाउँलाई समेटेर फक्ताङलुङ गाउँपालिका बनाइएको छ। यस वर्ष ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले वलुङहरूको पार्श्वचित्र तयार गर्न मलाई जिम्मा दियो। त्यसैको सम्झौता गर्न गत माघमा डोल्पाका साथी जगबहादुर बुढा र म फक्ताङलुङ गाउँपालिकाको कार्यालय तापेथोक पुगेका थियौं।

कार्यालयको काम सकेपछि हामीले वलुङ बस्ती लेलेप, लुङथुङ र ओलाङचुङगोला हुँदै सिङ्जेमा तालसम्म पुगेर फर्कने सोच बनायौँ। सिङ्जेमा ताल ओलाङचुङगोला नजिकै पर्ने अत्यन्तै सुन्दर ताल हो। तर यसको चर्चा खासै भएको छैन।

तापेथोकबाट अपरान्ह ३ बजे हामी बाटो लाग्यौँ। साँझमा लेलेप पुग्यौँ। त्यहाँ जुङदाक नामको एउटा होटेल भेटियो। नुप्पु जुङदाक भोटियाले होटेल थापेकाले जुङदाक हाटेल भनिएको रहेछ। हामी त्यहीँ बास बस्यौँ।

लेलेप गाउँमा झुरुप्प परेको एउटा ठूलो भोटिया बस्ती छ। स्थानीयबासीले भने अनुसार त्यहाँका मानिस अघि सोलखुम्बुबाट आएका हुन् रे। पहिले–पहिले उनीहरूलाई शेर्पा भनिन्थ्यो रे। नेपाली नागरिता पनि शेर्पा भएरै निकालेका रहेछन्। तर अहिले आफ्नै जातीय पहिचान खोज्दै वलुङ जाति बन्ने प्रकृयामा लागेका रहेछन्।

लेलेप गाउँमा विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, कन्चनजङ्घा संरक्षण क्षेत्र (केःक्याप) को कार्यालयलगायत छ। त्यहाँका कर्मचारीहरू साँझतिर जुङदाक होटलमै भेला हुँदा रहेछन्। हामी पुग्दा पनि केही प्रहरी र शिक्षकहरू त्यहाँ थिए। उकालो हिँडाइले निकै थकान भएको महसुस भयो। होटलकी साहुनी आजी कान्छीलाई तोङवा र बुंगुरको मासुको भुट्न लगायौं। खायौं। अनि आराम गर्‍यौं।

भोलिपल्ट बिहान आठ बजे लेलेपबाट फेरि बाटो लाग्यौँ। दिनभरि हिँडेपछि अपरान्ह पाँच बजे हामी इलाफेदी पुग्यौँ। त्यहाँ ढाकरमा आलु बोकेका तीन जना लिम्बुहरू भेटिए। उनीहरूमाथि चेनेबाट आउँदै रहेछन्। उनीहरूले आफ्नो घर तल इखाबु बताए। ती लिम्बुहरूले भनेअनुसार तमोर खोलाका लिम्बुहरू प्रत्येक साल हिँउदमा कोदो लिएर माथि चेने पुग्छन रे।

याङ्मालीहरू त्यहाँ आलु लिएर बसेका हुन्छन रे। अनि त्यो आलु उनीहरूले कोदोसँग साटेर यता ल्याउने रहेछन्। यसपालि पनि सात घर याङ्मालीहरू त्यहाँ आएर बसेका रहेछन्। आज उनीहरू त्यहीँ पुगेर फर्केको बताए। उनीहरूको यस्तो कुरा सुनेपछि म दोधारमा परेँ। के अहिलको यो पुँजीवादी दुनियाँमा पनि ताप्लेजुङमा अझै यस्तै वस्तु विनिमय प्रथा छ? अथवा कोदोले आलु साट्ने प्रचलन अहिले पनि छ? हुन त ताप्लेजुङको तमोर खोला क्षेत्रलाई अझै पनि दुर्गम ठाउँका रूपमा हेर्ने गरिन्छ।

बजारको प्रभाव त्यहाँ कमै परेको होला! याङ्मा त झनै विकट ठाउँमा पर्दछ। त्यहाँ बजारै छैन होला। मानवशास्त्री मार्शल मउसले भनेअनुसार जुन ठाउँमा बजारको पहुँच छैन त्यहाँ मानिसले वस्तु अथवा उपहार आदानप्रदान गरेर जीवन निर्वाह गर्दछन्।

यसबेला म मेरो बाल्यकालको कुरा सम्झिन्छु। मेरो गाउँ पाँचथरको नवमीडाँडा हो। दुईदशक अघिसम्म त्यहाँ बजारको राम्रो व्यवस्था थिएन। हिउँद लागेपछि मेरी आमा तोरी लिएर तल बेसीतिर झर्नुहुन्थ्यो। त्यहाँबाट तोरीसँग मासको दाल साटेर ल्याउनु हुन्थ्यो। हिउँदमा हामीले त्यही दाल खान्थ्यौँ। तर अहिले नवमीडाँडा ठूलो बजार भएको छ। दाल–चामल सबै त्यहीँ पाइन्छ। बेसीबाट तोरीले दाल साटेर ल्याउने चलन हाम्रो गाउँमा हट्यो।

तमोर खोलका लिम्बु र याङ्मालीहरूले भने अझै पनि यस्तो वस्तुले वस्तु साट्ने चलन हटाएका रहनछन्। जुन कुरा मैले ती लिम्बुहरूको भनाइबाट थाहा पाएँ। ती लिम्बुहरू ओरालो बाटो लागे। हामी पनि उकालो लाग्यौँ। माथि पुगेपछि बाटो तेर्सो मोडियो। त्यसपछि इलाडाँडा पुगियो। त्यहाँ एउटा होटल थियो। होटेलकी साहुनी राइनी थिइन्। उनले त्यहीँकै स्थानीय भोटिया (वलुङ) सँग विवाह गरेर होटल चलाउँदै बसेकी रहिछन्। आजको बास त्यहीँ मिलायौँ।

होटलमा ओलाङचुङका केही तावाली वलुङहरू तोङ्बा खाँदै बसिरहेका थिए। उनीहरू रासन लिन चौँरी लिएर तल लेलेप रानी–पुलतिर झर्दै गरेका रहेछन्। तावाली निमाथुण्डुक उनीहरूका टोली प्रमुख थिए। निमाथुण्डुकले भनेअनुसार केही वर्ष अघिसम्म ओलाङचुङगोलामा आवश्यक वस्तु तल सदरमुकाम फुङलिङबाटै बोकेर लानु पर्दथ्यो। ढुवानीमा धेरै खर्च हुन्थ्यो। त्यसैले ओलाङचुङवासीले रासन प्रायः तिब्बतबाटै ल्याउने गर्थे तर अहिले लेलेपसम्म गाडी पुगेकोले तल लेलेप रानी पुलबाट रासन लान थालेका कुरा उनले बताए। तावालीहरू तोङ्बा खाँदै गीत गाउन थाले। हामीले पनि तोङ्वा खायौँ र एकछिन गीत गाउँदै आराम गर्‍यौं।

विहान सबेरै उठियो। ईलाडाँडादेखि माथि होटल नभेटिने भएकाले बाटोमा खाजा भनेर होटल साहुनीलाई मकै र भटमास भुट्न लगायौँ। त्यो लिएर विहान सात बजे इलाडाँडाबाट हामी बाटो लाग्यौँ। सुकेपानी पुग्यौँ। त्यहाँ पनि आलु लिन हिँडेका तापेथोकका पाँच जना लिम्बुहरू भेटिए। दिलप्रसाद तापमादेन उनीहरूका टोली प्रमुख थिए। उनीहरूले ढाकरमा कोदो, इष्टलाई कोसेली र केही ओढ्ने ओछ्याउने सामान बोकेका थिए। हामी पनि उनीहरूसँगै लाग्यौँ। रामस्याङ् पाटी पुगियो। त्यहाँ फेरि केही लिम्बुहरू खाना पकाएर खाँदै गरेका भेटिए। हामीले पनि एकैछिन थकाइ मेटायौँ र खाजा पनि खायौँ। त्यसपछि फेरि बाटो लाग्यौँ। रामस्याङ् पाटीबाट लिङ्खिमका भगिरथ लिम्बुको टोली पनि हामीसँगै लागे। उनीहरूसँग रामबहादुर गुरुङ पनि थिए।

अब हाम्रो समूह पनि ठूलो भयो। कुराकानी गर्दै अघि बढ्यौँ। दिलप्रसादले आलु लिन यसरी चेने आउँदा तीर्थ गएजस्तै लागेको र ओलाङचुङगोला गुम्बामा पुगेर पुन्य मिलेको जस्तो अनुभूति गरेको बताए। उनले एउटा अर्को रोचक कुरा पनि सुनाए। तल लिङखीम गाउँमा एकजना लिम्बुको लामो समय सन्तान भएनन् रे। उसले ओलाङचुङगोला आएर दिक्कीछ्योलिङ गुम्बालाई सन्तान मागेछ। अनि एउटा छोरा जन्मिएछ। त्यसपछि उसले गुम्बामा आएर ठुलो पूजा गर्यो रे।

दिलप्रसादको यस्तो कुरा सुनेपछि मैले तमोर खोलावासीहरू ओलाङचुङगोलाको दिक्कीछ्योलिङ गुम्बालाई धेरै आस्था र विश्वास गर्दा रहेछन् भन्ने महसुस गरेँ। केही समयपछि हामी खन्दै गरेको नयाँ मोटर बाटोमा पुग्यौँ। त्यो बाटो नेपाल सरकारले ओलाङचुङगोलादेखि लेलेपसम्म जोड्न खन्दै गरेको रहेछ। त्यहाँ आलु लिएर फर्केका तल थिवा गाउँका केही लिम्बुहरू पनि भेटिए। उनीहरू आज तल इलाडाँडा पुगेर बास बस्न हिँडेका रहेछन्।

हामीले मोटर बाटोलाई पछ्याउँदै अघि बढ्यौँ। त्यसपछि जोङ्गीम पुगियो। जोङ्गीममा ओलाङचुङगोला र चेने जाने बाटो छुट्टियो। हाम्रो यात्रा ओलाङचुङ हुँदै सिङ्जेमा तालसम्मको थियो तर तलका लिम्बुहरू चेने आएर कसरी आलु साट्दा रहेछन् भन्ने हेर्न मन लाग्यो।

साथी जगबहादुरले पनि चेनेतिरै जाने मन गरे। त्यसपछि हामी पनि लिम्बुहरूसँगै चेनेतिर लाग्यौँ र चेने पुग्यौँ।

चेनेमा चार पाँचवटा अस्थायी टहराहरू देखिए। तीनजना बच्चाहरू रोङ्वा आए भन्दै दौडिएर हामीतिर आए। हिमाली भेगका मानिसहरू औलका मानिसलाई रोङ्वा भन्दा रहेछन्। बच्चाको आवाज सुनेपछि एउटी महिला टहराबाट निस्केर आइन् र दिलप्रसादको ढाकर समातेर नबोली हाँस्दै आफ्नो टहरातिर लान खोजिन्। उनले आलु साट्न खोजेकी रहिछन्।

दिलप्रसादले आफ्नै इष्टकोमा साट्ने भन्दै जान मानेनन्। ती महिलाले भाटिया कुरा गर्न थालिन्। उनका कुरा हामीले बुझेनौं। याङमा–गाउँका महिलाहरू अझै खस नेपाली भाषा राम्ररी बोल्न सक्दा रहेनछन्। हामी त्यहाँबाट अर्को टहरामा गयौँ। त्यहाँ पासाङ फुटिक थिइन्। हाम्रा लिम्बु साथीहरूकी इष्ट पनि उनी नै रहिछन्।

पासाङ फुटिक खस नेपाली भाषा राम्ररी बोल्ने याङमाकी एकमात्र महिला हुन्। आठ वर्ष अघि तल लुङथुङ गाउँदेखि याङ्माका फिन्जोसँग विवाह गरेर उनी त्यहाँ गएकी रहिछन्। त्यहाँ जाँदा उनका माइतीले धेरै चिन्ता लिएका थिए किनभने याङमा गाउँमा दुःख हुन्थ्यो। त्यहाँ आलुमात्र फल्थ्यो। रासनपानी तल तमोर खोला क्षेत्र र तिब्बतबाट ल्याउनु पर्दछ। अहिले पनि त्यस्तै छ।

धेरैजसो याङ्मालीले विवाह पनि तिब्बती महिलासँगै गर्दा रहेछन्। जसले गर्दा उनीहरूका नाता तिब्बतमा धेरै छन्। त्यहाँबाट रासन ल्याउँदा तिनै नाताहरूले सहयोग गर्छन् रे तर पासाङ फुटिक भने यता नेपालकै भएकाले तिब्बतमा उनका नाता छैनन्।

मानवशास्त्री मार्क टुरीनले भनेअनुसार नेपालीहरूमा आफ्नो समुदाय बाहेकका पराई मान्छेलाई पनि साइनो लगाएर नजिक बनाउने राम्रो क्षमता हुन्छ। यो क्षमता पासाङ फुटिकमा पनि देखिन्छ। हालसालै उनले तिब्बत रिहु बजारकी दावा फुटिकलाई मितीनी साइनो लगाएर नजिकको बनाएकी छिन्। अहिले उनी तिनै दावा फुटिककोबाट रासन ल्याउने गर्छिन्।

त्यसैगरी पासाङ फुटिकले तल लिङ्खिम गाउँका लिम्बुनीहरूसँग पनि मितिनी साइनो लाएको बताइन्। उनले यसरी मित लाउँदा धेरै आर्थिक फाइदा पनि भएको कुरा बताइन्। उनका मितीनीहरू आलु लिन उनैकोमा आउँदा रहेछन्।

यस वर्ष उनका श्रीमान् फिन्जोका मित इखाबुका लालबहादुर लिम्बुले पनि आलु लिन धेरै मान्छे पठाएका थिए। उनले उता लिङ्खिम गाउँबाट पनि यो साल धेरै इष्टहरू आएको बताइन्। अहिले हामीसँग तापेथोकको उनैका इष्टहरू आएका रहेछन्। तलबाट आउँदा तिनीहरूले दाल, खर्सानी, लसुनलगायत कोसेली पनि लिएर आएका हुँदा रहेछन्।

यस वर्ष पासाङ फुटिकले ३० मुरी आलु झारेकी रहिछन् तर तलका इष्ट धेरै आएकाले सबै सकिएको कुरा बताइन्। हामीसँग आएका टोलीलाई छिमेकी ठिलेन ग्याबोकोमा पठाइन्। टोलीहरू त्यहाँ गए र म पनि गएँ। ठिलेन ग्याबोले सबैको कोदो पालैपलो डालीमा नापे। त्यसपछि आलु राखेको खाल्डोतिर लगे।

याङमालीले चेने झारेको आलुलाई खाल्डोमा भण्डार गरेर राखेका हुँदा रहेछन्।

यस वर्ष ठिलेन ग्याबोले पच्चिस मुरी आलु झारेको बताए तर थोरै मात्र लिम्बुहरू उनकोमा आएकाले आलु धेरै बाँकी रहेको कुरा पनि सुनाए। ठिलेन ग्याबोको भनाइअनुसार उनकी श्रीमती तिब्बतकी भोटेनी हुन्। उनलाई खस नेपाली भाषा त्यति आउँदैन र तलकालाई इष्ट बनाउन पनि सक्दिनन् तर पासाङ फुटिकचाहिँ तलकै भएकी र नेपाली भाषा पनि राम्रो बोल्ने भएकीले तलकासँग उनी राम्रो सम्बन्ध राख्न सक्छिन्।

तलकालाई उनले मितिनी, छिमेकी र साथीको नाता दिएर सबैलाई आफन्त बनाएकी छिन्। तिनीहरू यता याङ्मा आउँदा उनैकोमा बस्छन् । धेरै कर्मचारीहरू पनि त्यहीँ बस्छन् किनभने उनलाई तलकाले के खान्छन्? उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ आदि कुराको राम्रो ज्ञान छ। कुराकानी पनि मिल्छ। अरु चाहिँ याङ्मामा धेरै तिब्बतकै भोटेनीहरू मात्र छन्। उनीहरू तलका नेपालीहरूसँग त्यति नजिक हुन सक्दैनन्। त्यसैले तलकाहरू आलु लिन धेरै पासाङ फुटिककैमा मात्र आएका रहेछन्। यस वर्ष पनि उनैकोमा धेरै आए।

ठिलेन ग्याबोको यो कुरा सुनेपछि साँच्चै मानिसलाई इष्ट बनाउन स्थान, भाषा र खानपिनले कति ठुलो भूमिका खेल्दो रहेछ भन्ने मैले महसुस गरेँ। ठिलेनले पालैपाले सबैको आलु भर्न थाले। एक पाथी कोदोको दुई पाथी आलु दिन थाले। रामबहादुरले चौध पाथी आलु पाए किनभने उनले सात पाथी कोदो ल्याएका थिए। अर्को साल आउँदा एक पाथी दाल ल्याइदिने भन्दै उनले थप दुई पाथी पनि पाए। यो थप आलुचाहिँ साँच्चै दालको लागि दिएका हुन् वा अर्को साल आफ्नैमा बोलाउन सम्बन्ध बनाएका हुन् त्यो थाहा भएन। ठिलेन ग्यावोले आलु भर्दै यही आलुले गर्दा तल औलका सबै चिज खान पाएको कुरा पनि गरे।

उनले भनेअनुसार याङ्मा गाउँमा धेरै जाडो हुन्छ। त्यहाँ बस्दा तोङ्वा खाइराख्नु पर्छ। त्यसैले तोङ्वा खानकै लागि उनीहरूले यसरी चेने आएर कोदो लगेको बताए। याङ्मालीले चेनेबाट एकपल्ट लगेको कोदोले वर्षभरी पुर्‍याउँदा रहेछ। कसैको त एक वर्षमा पनि सकिँदो रहेनछ। टासी लोप्साङले चार वर्ष अघिको कोदो घरमा त्यतिकै राखेका छन् रे। छ्वाङजोकले चाहिँ उता ओलाङचुङगोलाका नातेदारलाई दिएको कुरा सुनाए।

प्रायः याङमालीहरूमा कोदो पर्याप्त नै हुँदो रहेछ। बरु तलका लिम्बुहरूले कोदो फलाए पनि पर्याप्त मात्रामा उपभोग गर्न नपाएको कुरा ठिलेनले बताए। सबैको कोदो आलुसँग साटेर सकियो। ठिलेन ग्याबो आफ्नो टहरातिर लगे। हामी पनि फर्कियौँ। रात पर्यो। पासाङ फुटिकले जगबहादुर र मलाई तोङ्वा दिइन्। त्यसपछि खाना खाएर आराम गर्यौं।

विहान फेरि बाटो लागियो। पाङ्दाडोमा हुँदै जोङ्गीम पुग्यौँ। त्यहाँबाट लिम्बुहरू ओरालो लागे। हामीमाथि ओलाङचुङतिर लाग्यौँ र वलुङ बस्ती ओलाङचुङगोला पुग्यौँ। त्यहाँ काठैकाठले बनेका घरहरू भेटिए। गाउँमाथि एउटा गुम्बा पनि देखियो। त्यसलाई दिक्की छ्योलिङ गुम्बा भनिँदो रहेछ। ओलाङचुङगोलामा हिँउ टन्नै थियो। मान्छेचाहिँ खासै थिएनन्। हिउँदे जाडो छल्न धेरै ताप्लेजुङ र काठमाडौं झरेका रहेछन्।

हामी ढुङ्गाले गाह्रो लाएको एउटा ठूलो घरमा पुग्यौँ। स्थानीयले त्यसलाई कारवारी घर भन्दा रहेछन्। चर्चित नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतको जन्म पनि त्यही घरमा भएको रहेछ। हामी त्यही घरमा बस्यौँ। विहान दिक्की छ्योलिङ गुम्बामा गयौँ।

त्यहाँका मुख्य लामा कुस्योफुला उक्याप काठमाडौँ गएकाले गुम्बाको ढोका बन्द थियो। बाहिरबाट हामीले दर्शन गरेर फर्कियौँ। हाम्रो योजनामाथि सिङ्जेमा तालसम्म पुग्नु थियो तर हिँउले गर्दा जान सकेनौँ। त्यही दिन लेलेप झरेर बस्यौँ र भोलिपल्ट काठमाडौं लाग्यौं। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com प्रदेश १ को राजधानी विराटनगरबाट सञ्चालन भएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

हाम्रो टिम

सम्पादक
घनश्याम भट्टराई

 

सम्पर्क

विराटनगर २, मुनालपथ, मोरङ
(977)9820718140
[email protected]