Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौँ । करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थाल्यो ।

तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला भने तल झर्न थालेको छ । आश्चर्य त के छ भने दूरसञ्चार सेवा प्रदायकको यसअघि मासिक ग्राहक बढ्ने दरभन्दा घट्ने दर दोब्बरभन्दा बढी छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार पुसपछि जीएसएम ग्राहकको कुल सङ्ख्यामा व्यापक गिरावट आउन थालेको हो । पुसमा जीएसएम ग्राहकको सङ्ख्या अहिलेसम्मकै बढी अर्थात् चार करोड पाँच लाख ९२ हजार पुगेपछि माघमा एकैपटक करिब १६ लाखले घटेर तीन करोड ९१ लाख १३ हजार पुग्यो । त्यतिबेला ग्राहक गुमाउने सरकारी लगानीको नेपाल टेलिकम मात्रै थियो ।

माघपछि एकैपटक करिब २८ लाखले जीएसएम ग्राहक घटेर फागुनमा कुल सङ्ख्या तीन करोड ६३ लाख पुग्यो । कुनै एउटा महिनामा दूरसञ्चार सेवा प्रदायकले गुमाएको अहिलेसम्मकै धेरै सङ्ख्यासमेत थियो त्यो । त्यतिबेला पनि ग्राहक गुमाउने नेपाल टेलिकम मात्रै थियो । प्रतिस्पर्धी एनसेल र स्मार्ट टेलिकमको ग्राहक सङ्ख्या बिस्तारै उकालो लाग्ने क्रममै थियो । चैतसम्म पुग्दा ठूलो सङ्ख्यामा ग्राहक गुमाउने प्रवृत्तिमा बे्रक लागेर तीन करोड ६२ लाख कायम भयो । त्यतिबेला ग्राहक गुमाउनेमा एनसेल मात्र थियो । एनसेलले करिब एक लाख ग्राहक गुमाएको थियो । टेलिकमले भने सामान्य भए पनि आफ्नो ग्राहक आधार बढायो ।

प्राधिकरणले पछिल्लोपटक जेठसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीएसएम ग्राहकको सङ्ख्या तीन करोड ५३ लाख ३५ हजार छ । जुन त्यसअघिको वैशाखको तुलनामा आठ लाख ३७ हजारले कम हो । वैशाखमा जीएसएम ग्राहक सङ्ख्या तीन करोड ६१ लाख ७२ हजार थियो । त्यतिबेला टेलिकमको ग्राहक सङ्ख्या एक करोड ७७ लाख र एनसेलको करिब एक करोड ६३ लाख थियो । जब कि जेठमा दुवै कम्पनीका ग्राहक घटेर टेलिकमको एक करोड ७२ लाख ७७ हजार र एनसेलको एक करोड ५९ लाख १६ हजार कायम थियो ।

यसको अर्थ टेलिकमले वैशाख र जेठमा करिब पाँच लाख र एनसेलले चार लाख गरेर नौ लाख ग्राहक गुमाउन पुगे । तेस्रो प्रतिस्पर्धी स्मार्ट टेलिकमको जेठसम्म ग्राहक सङ्ख्या भने २१ लाख ४१ हजार पुगेको तथ्याङ्कले देखाउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा