Lite Nepal

शनिबार, मंसिर ०६, २०७७

काठमाडौँ । नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा शनिबारबाट खुला गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार यसको उद्घाटन गरेका हुन् । श्रीसदन खुलेसँगै नारायणहिटी दरबार संग्रहालयका ५२ कक्षमध्ये ३२ वटालाई सर्वसाधारणका निम्ति खुला गरिएको छ ।

यसअघि आंशिक रूपमा खुलेको संग्रहालय कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन भएको लकडाउनयता सर्वसाधारणलाई अवलोकन बन्द गरिएको थियो । सरकारले गठन गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (२०७६) गठन भएपछि यसरी पहल भएको हो ।

समितिले बृहत योजनासहित निर्माण कार्य निरन्तर राखेको र तत्काल स्वास्थ्य मापदण्ड कायम गरी सर्वसाधारणलाई अवलोकन खुला गरिएको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

मन्त्री भट्टराईले राजा वीरेन्द्र निवास उद्घाटन कार्य आफ्नो जीवनको रोमान्चक क्षण भएका बताए । ‘राजतन्त्रको अन्त्यका लागि संघर्ष गरियो र आज त्यही राजतन्त्रको इतिहास जोगाउन आइपुगेको छु,’ इतिहास कसैको दुष्मन नहुने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘राजतन्त्रको अन्त्य गर्नेले इतिहासको संरक्षण गर्नु प्रतिकात्मक गौरव हो । राजा वीरेन्द्रको निवास आजबाट खुला गरिनु महत्वपूर्ण घटना हो । पृथ्वीनारायण शाहको योगदानको संरक्षण हुनेछ ।’

तीन तले श्रीसदन वीरेन्द्रको परिवारले उपभोग गरेको कक्षहरू, सामग्रीहरू रहेका छन् । राजपरिवारले औपचारिक समारोहमा प्रयोग गरेका कारहरू, जर्मन चान्सलर हिटलरले पूर्वराजा त्रिभुवनलाई उपहार दिएको ‘त्रिभुवन कार’समेत सार्वजनिक गरिएका छन् ।

मन्त्री भट्टराईले शाहवंशको साढे दुई सय वर्ष शासन इतिहासलाई एकीकृत ढंगले नारायणहिटी दरबार संग्रहालयमा समेट्न निर्देशन दिएका छन् । अन्य दरबार तथा संग्रहालयमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत नारायणहिटी दरबार संग्रहालयमा राखिने जनाइएको छ । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायतको ज्यान गएको थियो । सो घटनाको १९ वर्षपछि नारायणहिटी दरबारको अग्रभागको प्रवेशद्वार रंगरोगन र जीर्णोद्वार कार्य भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा