विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा सम्पन्न जुनियर लेभल (कक्षा १–३) स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम हुँदै च्याम्पियनको उपाधि हात पारेको छ।
प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुल द्वितीय, डिएभी स्कुल तृतीय र गौतमबुद्ध सेकेन्डरी स्कुल सान्त्वना भएका छन्।

प्रतियोगिताका विभिन्न चरणमा सबैभन्दा बढी सही उत्तर दिँदै बेस्ट स्पेलर अवार्ड एभरेष्ट सेकेन्डरी स्कुलले प्राप्त गरेको छ।
कार्यक्रमकी प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य शितला सुब्बाले विद्यार्थीको सिकाइलाई प्रतिस्पर्धात्मक र रमाइलो बनाउँदै भाषा तथा शब्दज्ञानको विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन्।
उनले विद्यार्थीको प्रतिभा पहिचानसँगै आत्मविश्वास अभिवृद्धि गर्न विद्यालयस्तरमा सिर्जनात्मक तथा ज्ञानमूलक प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रमका अध्यक्ष तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको ज्ञान, क्षमता र प्रतिभा प्रस्फुटनका लागि प्याब्सन विराटनगरले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए।
उनले प्रतियोगितालाई केवल जित(हारका रूपमा नलिई विद्यार्थीको सिकाइ, आत्मविश्वास र व्यक्तित्व विकाससँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमका संयोजक इश्वरी प्रसाद मिश्रले प्रतियोगितामा सहभागी विद्यार्थी तथा विद्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताए।
कार्यक्रममा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, कोषाध्यक्ष गोपाल रिजाल, सहसचिव दिनेश ढुङ्गाना, सहकोषाध्यक्ष देविलाल महतो तथा सदस्यहरू यादव प्रधान र विजय सिंहका साथै विभिन्न विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा २६ वटा विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगिताले विद्यार्थीमा शब्दज्ञान, सही हिज्जे लेख्ने क्षमता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।