Lite Nepal

आइतबार, मंसिर १४, २०७७

काठमाडौं । भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको आउजाउ भइरहेका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्। पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरूले यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक दिने नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको छ। नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतले आफूप्रति निरन्तर उठाएको चासोलाई सन्तुलनमा राख्न चिनियाँ राष्ट्रपति सी जिङफिङले रक्षामन्त्री फेङहेलाई नेपाल भ्रमणमा पठाएको विश्लेषकहरूले बताएका छन्। चिनियाँ रक्षामन्त्री फेङहेको भ्रमण रक्षा मामिलाभन्दा पनि बढी राजनीतिक केन्द्रित हुने देखिएको छ। तर, सबैभन्दा बढी समय रक्षामन्त्री फेङहेले जंगी अड्डामा बिताउने र नेपाली सेनासँगको स्थायी र बलियो सम्बन्ध रहेको सन्देश दिनेछन्।

चिनियाँ रक्षामन्त्री फेङहेले प्रधानमन्त्री ओलीसँगको भेटमा नेकपाभित्र देखिएको मतभेदबारे समेत चासो राख्ने स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीसँगको भेटमा फेङहेले नेपाली सेनालाई गर्ने सहयोगबारे पनि छलफल गर्नेछन्। प्रधानमन्त्री ओलीले अहिले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका छन्।

भेटमा नेपाल–चीनबीचको पछिल्लो सम्बन्ध, बेल्ट एन्ड रोड इनिसियटिभ, रक्षा सहायतालगायत विषयमा छलफल हुनेछ। चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष सन्देश लिएर आउन लागेका रक्षामन्त्री फेङहे र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीति, सुरक्षा मामिलाबारे समेत छलफल हुने स्रोतले बताएको छ। प्रधानमन्त्रीले एमसीसी परियोजना पास गर्ने रणनीति लिएपछि सशंकित बनेको चीनले आफ्नो पोजिसनबारे छलफल गर्ने स्रोतले बताएको छ।

नेपालले एक चीन नीतिको सिद्धान्त अंगीकार गर्दै आएको छ। चीन नेपाली भूमि प्रयोग गरेर आफूविरुद्ध कुनै पनि गतिविधि नहोस् भन्ने चाहन्छ।

नेपालस्थित चिनियाँ दूतावासले रक्षामन्त्री फेङहेको नेपाल भ्रमण र उनको तालिकाबारे औपचारिक रूपमा केही भनेको छैन। यद्यपि, चिनियाँ दूतावासले नेकपाका केही शीर्ष नेतासँग रक्षामन्त्री फेङहेको भेट गराउने तयारी गरिरहेको स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं