काठमाडौँ । चीनले कोरोना संक्रमण रोकथामका लागि भन्दै सर्वोच्च शिखर सगरमाथामा सीमारेखा बनाउने भएको छ ।
चीनले सगरमाथामा तिब्बत र नेपाललाई छुट्याउने रेखा कोर्ने तयारी गरेको चिनियाँ सरकारी मिडियाले जनाएका छन् । नेपाल तर्फ सगरमाथाको आधार शिविरसम्म आरोहीहरुलाई नै कोरोना संक्रमण पुष्टि भएपछि चीनले यस्तो तयारी गरेको हो ।
यसअघि नेपालको पाटोबाट सगरमाथा आरोहण गरिरहेका आरोहीहरुलाई कोरोना संक्रमण भएको बताइएको थियो । सगरमाथाको आधार शिविरसम्मै कोरोना फैलिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले समेत प्रशारण गर्न थालेपछि चीनले कोरोना रोकथामका लागि तयारी थालेको हो ।
चिनियाँ मिडियाका अनुसार तिब्बती पर्वतारोहण पथ प्रदर्शक टोलीले छिट्टै सगरमाथामा चढेर नेपालसँग छुट्टिने सीमा रेखा खडा गर्नेछ । उक्त टोलीमा २१ जना चिनियाँ रहेको बताइएको छ । चीनले गत वर्षदेखि नै कुनै पनि विदेशीलाई तीब्बती पाटोबाट सगरमाथा आरोहण गर्न अनुमति दिएको छैन ।
२०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाभाइरस हाल सिंगो विश्व समुदायमा फैलिसकेको छ । चीनले भने प्रारम्भिक चरणमा नै कोरोना रोकथामका प्रभावकारी उपाय अपनाउँदै नियन्त्रणमा लिएको थियो ।