काठमाडौं । ईनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक सातासम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो।
ईनमसँगको कनेक्सन खुलेपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। प्रहरीले ईनमविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ।

त्यस्तै, श्रेष्ठ र भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनमलाई पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा अन्य दुई जनालाई पनि पक्राउ गरिएको हो।
