Lite Nepal

मंगलबार, आषाढ ०१, २०७८

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कुहिरोमा हराएको कागजस्तै भएको प्रतिपक्षी दलका नेताहरुले टिप्पणी गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा ३२ अर्ब ४६ करोड ९२ लाख बजेट प्रस्तुत गरेका थिए ।

चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम रहेको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आर्थिक वृद्धिदर उच्च भएकाले पूरा हुन सक्ने अवस्था नदेखिएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

‘प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु वर्षको वृद्धिदर ऋणात्मक भएकाले त्यो लक्ष्य पूरा हुने अवस्था छैन,’ उनले भने, ‘आर्थिक वृद्धिदरका लागि कोरोनाले प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्ने योजना समेटिएको छैन ।’

सरकारको प्राथमिकता नै स्पष्ट नभएको उनले बताए । ‘बजेटले प्राथमिकता निर्धारण गरेको छैन, कुहिरोमा हराएको काग जस्तै छ,’ उनले भने, ‘चालु वर्ष स्रोतमा चाप भएको सरकारले बताउँदै आएको छ तर बजेटमा दुई अर्ब नगद मौज्दात हुने उल्लेख गर्नुले बजेट असन्तुलन देखाउँछ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भद्रगोल अवस्थामा आएको बजेटले प्राथमिकता क्षेत्र निर्धारण नगर्दा आर्थिक वृद्धिदर हासिल हुन नसक्ने बताए । ‘ऋणात्मकबाट माथि उकास्छौं भन्नुपर्नेमा ६ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘बजेटको प्राथमिकता हेर्दा लक्ष्य पूरा हुने देखिंदैन ।’

मन्त्रालयहरुको बजेट नतोकिंदा सत्तापक्षभित्र बजेट बाँडफाँडका विषयमा लफडा रहेको उनले बताए । प्राथमिकता निर्धारण नगरेका कारण बजेट बद्रगोल देखिएको उनको टिप्पणी छ । नीति तथा कार्यक्रममा उठाइएका विषयलाई बजेटमा नसमेटिएको उनले बताए ।

जनता समाजवादी पार्टीको संसदीय दलका नेता जयराम यादवले पुरानै बजेटको निरन्तरता भएकाले नयाँ विषय केही नआएको बताए । बजेटमा एमालेभित्रको विवाद पनि देखिएको उनको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं