Lite Nepal

बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं । विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ ।

धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सक्छन् । यसमा प्रयोगकर्ताले आफूलाई मन लागेको समसामयिक विषयमा सुन्ने तथा अन्तक्रियामा सहभागी भएर मनोरञ्जन एवं ज्ञान लिन सक्छन् ।

के हो क्लब हाउस ?

क्लब हाउस सामाजिक सञ्जाल एप हो । यो सामाजिक सञ्जाल चलाउन त्यसमा पहिला सदस्य भइसकेका प्रयोगकर्ताले ‘इन्भाइट’ गर्नुपर्छ अर्थात् यो सामाजिक सञ्जालमा बोलाउनुपर्छ । अन्यथा यसमा सोझै प्रवेश गर्न पाइँदैन ।

यसबाट प्रयोगकर्ताले बोलेर आफ्नो आवाजबाट संवाद, बहस र व्यवसायिक विषयमा कुराकानी गर्न र जानकारी लिन सक्छन् । यस एपले संवाद तथा अन्तक्रियामा आवाजमात्र सपोर्ट गर्छ । यो एपमा फोटो वा भिडियोको नाममा प्रोफाइल तस्वीर मात्र हुन्छ ।

यो एप कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएपछि बजारमा आएको हो । महामारीका कारण मानिसहरू घरमै थुनिन बाध्य भएको अवस्थामा उनीहरू संवाद तथा अन्तक्रियाको लागि नयाँ प्रविधिको खोजीमा थिए । त्यतिबेला संवादका माध्यमहरूको रुपमा जुम, गुगल मिटहरू लोकप्रिय थिए । कोरोना महामारीकै बीच क्लब हाउसले पनि चर्चा पायो ।

यो सामाजिक सञ्जाललाई पहिलोपटक सन् २०२० मार्चमा अल्फा एक्सप्लोरोसन कम्पनीका पल डेभिसन र रोहन सेथले आईओएस भर्सनमा यो एप सार्वजनिक गरेका थिए । आईओएस भर्सनमा मात्र सीमित गरिएकाले त्यतिबेला प्रयोगकर्ताको संख्या बढ्न सकेन ।

प्रयोगकर्तामा खासै वृद्धि हुन नसकेपछि यो एपलाई एन्ड्रोइड भर्सनमा पनि ल्याइयो । त्यसपछि भने यसका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भयो ।

क्लब हाउसको मुख्य विषेशता भनेको भर्चुअल रुम हो । यो एपमा तीन किसिमका भर्चुअल रुम छन्- ओपन रुम, सोसियल रुम र क्लोज्ड रुम सन् २०२० को डिसेम्बरसम्ममा क्लब हाउसका प्रयोगकर्ता ६ लाख पुगेका थिए । यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पल डेभिसनका अनुसार जनवरी २०२१ सम्ममा क्लब हाउसका साप्ताहिक प्रयोगकर्ता २० लाखभन्दा धेरै छन् ।

क्लब हाउसको टोलीले प्रयोगकर्ताको संख्यामा देखिएको वृद्धिलाई व्यवस्थापन तथा त्यसलाई धान्नसक्ने बनाउनका लागि इन्भाइट गरेर मात्र नयाँ प्रयोगकर्ता आउनसक्ने गरी एपको विकास गरेको हो ।

कसरी खोल्ने क्लब हाउस ?

क्लब हाउसको प्रयोगकर्ता बन्न यो एप डाउनलोड गरेपछि सो एप प्रयोगको लागि भने यसअघि नै सो एप प्रयोग गर्ने मानिसले इन्भाइट गर्नुपर्छ ।

इन्भाइट गरेपछि मोबाइल नम्बरमा आएको कोड वा लिंक राखेर मात्रै यो एप चलाउन पाइन्छ । तर एकजना प्रयोगकर्ताले ५ जनालाई भन्दा धेरैलाई निःशुल्क इन्भाइट गर्न मिल्दैन । उक्त लिमिट कटेपछि पनि इन्भाइट गर्न चाहेमा तोकेको शुल्क बुझाउनुपर्छ ।

क्लब हाउसका विशेषता

क्लब हाउसको मुख्य विषेशता भनेको भर्चुअल रुम हो । यो एपमा तीन किसिमका भर्चुअल रुम छन्- ओपन रुम, सोसियल रुम र क्लोज्ड रुम ।

ओपन रुम

यसमा जो कोही प्रयोगकर्ता जसको रुममा पनि प्रवेश गरेर आयोजकले सेटिङ परिवर्तन नगरेसम्म उसका संवाद सुन्न सक्छ । क्लब हाउसको यही रुमबाट विश्वभरका मानिसको अन्तक्रिया र संवादहरू सजिलै सुन्न सकिन्छ । तर प्रवेश गर्न भने आयोजको अनुमति चाहिन्छ ।

सोसियल रुम

सोसियल रूममा आयोजक वा वक्तालाई फलो गरेका प्रयोगकर्ताले मात्र प्रवेश पाउँछन् । यसमा आयोजकले कुनै समसामयिक विषयमा अन्तरक्रिया, संवाद चलाइरहेका हुन्छन् । त्यसमा प्रवेश गराउन आयोजकले स्पिकर बनाउन सक्छन् ।

क्लोजड रुम

क्लोज्ड रूम वा प्राइभेट रूममा वक्ताले इन्भाइट गरेका प्रयोगकर्ता मात्रै जोडिन सक्छन् । त्यसमा वक्ताले इन्भाइट गरेका व्यक्तिलाई स्पिकर पनि बनाउन सक्छन् ।

यी रूममा वक्ता, श्रोता र आयोजक हुन्छन् । रूम बनाउने आयोजक हुन्छ । आयोजकले रुमलाई आफू अनुकूल चलायमान बनाउन र नाम दिन सक्छन् । आयोजकसँग श्रोतालाई वक्ता बनाउने, म्युट/अनम्युट गर्ने र वक्तालाई निकाल्नेसम्मको अधिकार हुन्छ ।

बाहिरबाट कुनै प्रश्न सोध्न वा आफूलाई लागेको कुरा बोल्न मन लागेमा श्रोताले वक्ता हुनको लागि हात उठाउने बटन थिचेर आयोजकलाई सूचना वा जानकारी दिनसक्छन् । यस्तै आफूलाई मन नपरेमा वा त्यो रुमबाट बाहिर निस्कन चाहेमा श्रोता वा वक्ताले ‘लिभ क्वाइट्ली’ भन्ने बटन क्लिक गरेर रुमबाट बाहिरिन सक्छन् ।

ब्लक अप्सन

क्लब हाउसमा यदि तपाईंलाई मन नपरेको श्रोता भएमा त्यसलाई ब्लक गर्न समेत सुविधा दिइएको छ । त्यसको लागि आयोजकले श्रोताको प्रोफाइलमा गएर ब्लक गर्न सक्नेछन् ।

क्लब हाउसबाट कसरी पैसा कमाउने ?

सामाजिक सञ्जाल क्लब हाउसबाट मनोरञ्जन तथा ज्ञान मात्र होइन, पैसा पनि कमाउन सकिन्छ । त्यसका लागि केही तरिका छ –

० आफ्नो बायो प्रयोग गरेर

क्लबहाउसमा प्रोफाइलको बायो आफ्नो बारेमा अरुलाई जानकारी दिन मात्र नभई पैसा कमाउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

तपाईंले राम्रो कन्टेन्ट बनाउनुहुन्छ भने अरु क्लबहाउस प्रयोगकर्तालाई विभिन्न क्यास एपको लिंक राखेर सहयोगका लागि अनुरोध गर्न सक्नुहुनेछ ।

त्यस्तै ‘विसलिस्ट’ राखेर अरु प्रयोगकर्तालाई आफ्नो प्रडक्ट वा सेवा पनि बेच्न सक्नुहुनेछ । यसरी कुनै पनि प्रयोगकर्ताले आफ्नो सामानको प्रचार पनि गर्न सक्छन् । लिंक राख्दा कस्तो ग्राहकलाई लक्षित गरेर राखिएको हो भन्ने जानकारीचाहिँ पहिला नै उल्लेख गर्नुपर्छ ।

० पेड रुम र सब्सिक्रिप्सन
क्लब हाउसमा पैसा कमाउने अर्को उपाय पैसा तिर्नुपर्ने रुम र सब्सिक्रिप्सनको अप्सन राख्नु हो । यसमा भर्चुअल क्लास रुमदेखि सेमिनार जस्ता कार्यक्रम आयोजना गर्न सकिन्छ ।

यसका लागि पे पल, स्कवारजस्ता कम्पनीबाट भुक्तानी गर्न सकिन्छ । यस्तो कार्यक्रम एक्सक्लुसिब बनाएर क्लब हाउसमा मात्रै सुन्न पाइने गरी राख्न सक्नुपर्छर् ।

० स्पोन्सर रूम

अहिलेको प्रविधिको युगमा अनलाइन मार्केटिङ धेरै प्रयोगमा आएको छ । त्यही कारण तपाईंको स्पोन्सरको प्लेटर्फम क्लब हाउस पनि हुनसक्छ । त्यसको लागि तपाईंले आफ्नो रुमलाई स्पोन्सर गराउन सक्नुभयो भने त्यहीँबाट पनि पैसा आर्जन गर्न सक्नुहुन्छ ।

तपाईंले धेरै सहभागी पाउनुहुन्छ भने केही व्यवसायीले तपाईँलाई सामान प्रचार गर्न पैसा दिन पनि सक्दछन् । खासगरी रेडियो स्टेसन, युट्युब भिडियोमा स्पोन्सर पाएजस्तै क्लबहाउसमा पनि स्पोन्सर पाए पैसा कमाउन सकिन्छ ।

क्लब हाउसको गोपनीयतालाई लिएर धेरै देशले आलोचना गरेका छन् । यसको प्रयोगमा ओमान, जोर्डन र चीनजस्ता देशले रोक नै लगाएका छन्

एक्लोपनको साथी !
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मनोविज्ञहरूको विश्लेषण अनुसार कोरोना भाइरस (कोभिड-१९) बाट निको भएका मानिसलाई सोसियलाइजेसन अर्थात् सामाजिकीकरणमा समस्या देखिनसक्छ । लामो समयसम्म आइसोलेसन र लकडाउनमा बसेपछि मानिसलाई घुलमिल हुन नयाँ सम्बन्ध बनाउन समस्या हुनसक्छ ।

यस्तोमा मानिसहरू घर वा कोठाको एउटा सीमित परिधिभित्र बस्दा एक्लो महसुस गर्ने भएका जोकोहीलाई क्लब हाउसले साथी बनाउने र गफ गर्ने वातावरण बनाएको छ ।

क्लबहाउसको एउटा रूममा एक पटकमा ५ हजार प्रयोगकर्ता समेट्न मिल्छ । उस्तै विशेषता भएको टेलिग्राममा भने जति जना पनि जोडिन पाउँछन् । पाँच हजारभन्दा धेरैसँग एकैपटक जोडिन परेमा टेलिग्राम राम्रो विकल्प हुनसक्छ ।

यता, क्लबहाउसले जस्तै टि्वटरले पनि सोही प्रकारको ‘टि्वटर स्पेस’लाई सञ्चालनमा ल्याएको छ । तर उक्त प्लेटर्फममा आयोजक बन्न ६ सय फलोअर चाहिन्छ । त्यसैले टि्वटरभन्दा क्लबहाउस प्रयोगकर्ताको मन जित्न सफल छ । बढ्दो प्रयोगकर्तालाई राम्ररी व्यवस्थापन गर्न यस्तो सुविधा राखिएको कम्पनीको भनाइ छ ।

फेसबुक, स्ल्याक, रेड्डटिले पनि क्लबहाउसलाई चुनौती दिँदै यस्तै फिचर ल्याउने बताएका छन् ।

यद्यपि क्लब हाउसको गोपनीयतालाई लिएर धेरै देशले आलोचना गरेका छन् । यसको प्रयोगमा ओमान, जोर्डन र चीनजस्ता देशले रोक नै लगाएका छन् । फेसबुक, टि्वटर, डिसकर्ड, स्पोटिफाई, रेडिट र स्लाकजस्ता कम्पनीले क्लब हाउससँग सिधै प्रतिस्पर्धा गर्न विभिन्न उत्पादन विकास गर्दै आएका छन् ।

क्लब हाउसको आम्दानी

क्लब हाउसले सन् २०२० मे महिनामा सार्वजनिक गर्दा उसको कमाइ १० करोड अमेरिकी डलर थियो । यद्यपि २०२१ को अप्रिलसम्म आइपुग्दा क्लब हाउसको मूल्यांकन चार अर्ब डलर पुगेको छ । क्लबहाउसको एप्स सबैभन्दा बढी डाउनलोड जर्मनी, जापान, स्लोभाकिया र टर्कीमा ३० लाखभन्दा बढी डाउनलोड गरिएको छ । यस्तै जापानमा फेब्रुअरीसम्ममा ४ लाख ४० हजार पटक डाउनलोड भएको छ ।

के सुरक्षित छ क्लब हाउस ?

क्लब हाउस लोकपि्रय भएपनि सुरक्षाका दृष्टिकोणले उसले सुरक्षाका मादण्ड अपनाएको छैन । खास गरी घृणा फैलाउने अभिव्यक्तिलगायत दुरुपयोगको लागि सुरक्षा मापदण्ड नअपनाइएको साइबर सुरक्षाबारे जानकार बाबुराम अर्याल बताउँछन् ।
उनी भन्छन्, ‘हामीले पनि क्बल हाउसमा भर्खरमात्रै साइबर सुरक्षाबारे कार्यक्रम नै गर्‍यौँं । तर को मानिस कति उमेरको भनेर कसरी थाहा पाउने ? बालबालिकाले उमेर बढाएर पनि यसमा प्रवेश गर्न सक्छन् ।’

अर्याल थप्छन्, ‘यदि कसैले घृणा फैलाउने वा अश्लील भाषण गरे के कारबाही गर्ने भन्नेबारे क्लब हाउसले स्पष्टसँग आफ्नो सुरक्षा मापदण्ड बनाएको छैन । कसैले उमेरको झुटो विवरण पेश गरेर पनि त्यहाँ आउन सक्छन् र उनीहरुले घृणा फैलाउने वार्तालाप गरे के कारबाही हुने भन्ने स्पष्ट छैन ।’ अनलाईन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा